१५ मंसिर २०७९, बिहीबार

मानवतावादी जयपृथ्वीबहादुर सिंहबारे नखुलेका केही तथ्य



विश्वका विभिन्न मुलुकमो मानवतावादी विचार फैलाएका मानवतावादी आन्दोलनका प्रतिपादक मानिएका राजा जयपथ्वी बहादुर सिंह समाजमा ‘मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त पनि मानवतावाद हो, मेरो अन्य कुनै जात र धर्म छैन” भन्दै विश्व भ्रमण गर्ने प्रथम एसियाली हुन् । सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जनः ।। अर्थात्, सबै मानवजाति सुखी होउन, सबै निरोगी होउन सबैले राम्रै–राम्रो मात्र देख्न पाउन्, कुनै पनि मान्छे दुःखी रोगी नहोउन् भन्ने विचार विश्वभरी छरेका थिए । सुदूरको विकट बझाङ जिल्लामा जन्मनु भएका जयपृथ्वी बहादुर सिंह आज पनि मानवतावादी व्यक्तिका रुपमा स्मरण गरिन्छन् ।
बझाङ्गी राज घरानाको वंशावली हेर्दा भारतको चित्तौडका सूर्यवंशी राजा हरिवंशका नाती जैमिनका कान्छा छोरा थामी रायका पालामा बिक्रम सम्वत १२३७ तिर बझाङ्ग प्रवेश गरेको इतिहास भेटिन्छ । बझाङ्ग आएको दशौ पुस्तासम्म राय थरले चिनिने ११ औं पुस्ताका राजा असुनी रायले थर परिवर्तन गरी बम्म लेख्न शुरु गरेको किंवदन्ती तथा विभिन्न पुस्तकमा उल्लेख रहेको भेटिन्छ । त्यसपछि ३५ औं पुस्ताका राजा मलय बम्मले १५०३ बिक्रममा फेरी आफ्नो थर बदलेर सिंह लेख्न सुरु गरे । ५० औं पुस्ताका राजा समुन्द्र सिंह पछि रघुनाथ सिंह, इन्द्रसिंह, गजराज सिंह, भोविन्द्र सिंह हुदै बिक्रम बहादुर सिंह वझाङ्गको राजा भएको दान बहादुर ऐडीद्वारा लिखित “कडेलका चार चमत्कार” भन्ने पुस्तकमा उल्लेख छ ।
बुवा बिक्रम बहादुर सिंह र आमा रुद्र कुमारी सिंहका कोखबाट १९३४ साल भाद्र ७ गते मंगलबारका दिन जन्म भएको हालको सदरमुकाम चैनपुर अथवा उहा“को पूखौली ठाउ“ छविस राज्यको रजन्तोला दरबार (हाल छबिसपाथीभेरा गाउ“पालिका वडा नम्बर २ मुम्ला गाउ“को सिरानिमा) जयपृथ्वी बहादुर सिंहको जन्म भएको हो भन्नेमा विवाद छ । २०३५ चैत्र १२ मा प्रकाशनमा आएको उत्तम बहादुर सिंहको पुस्तकमा जयपृथ्वी बहादुर सिंहको जन्म चैनपुरको दरबारमा भएको भन्ने उल्लेख छ । त्यसैगरि जयपृथ्वी बहादुर सिहंको बारेमा अन्वेषण गरिरहेको रफाज नेपालले प्रकाशन गरेको एक पुस्तकमा पनि सदरमुकाम चैनपुरको हात्तिसार दरबारमा जन्म भएको भन्ने उल्लेख भएको छ । हात्तिसार दरबारको निर्माण १९९० सालमा मात्र भएको हुनाले यो सम्भव होईन भनेहरु पनि छन् भने १९९० सालको भुकम्पले हात्तीसार दरबार भत्किएको र पुनर्निर्माण भएको हो भन्ने अर्कोथरिको धारणा छ ।
ड्ड जयपृथ्वी बहादुर सिंह रजन्तोलामा जन्मेको प्रमाणहरुमा गर्भाधारणका हिसाबले जेठा भएर जन्मनु पर्ने देविजंग बहादुर सिंहभन्दा जयपृथ्वी बहादुर सिंह अगाडी (जेठा भएर) जन्मने छन् भनेर उनी जन्मनु भन्दा अगाडी नै उनको जन्मकुण्डली तयार गर्ने व्यक्ति साविकको कडेल गाविस वडा नम्बर ६ पतालचौरका रामभद्र जोशी हुन् । सोही अनुसार आठ महिनामै जयपृथ्वी बहादुर सिहं जन्मेर जेठा भएका हुन् । सो गर्भाचिन लगाए वापत राजा बिक्रम वहादुर सिंहबाट बगडगाउको जिउलामा २४ नाली (बगडसेरो) खेत रोत पाएको छ । जुन जग्गा १९९० सालको नापीमा महाशंकर जोशीको नाउमा दर्ता भै हाल अंशियारका रुपमा नन्दलाल जोशी, शिवभक्त जोशी, जगन्नाथ जोशी र जोगनारायण जोशीका सन्तानहरुले चलनभोग गरिरहेका छन् । जन्मकुण्डलीमा उल्लेख भएको व्यहोराले जयपृथ्वी बहादुर सिहं रजन्तोला मै जन्मेका हुन भन्ने पुष्टि गर्दछ र

ड्ड बझाङ्गी राजा बिक्रम वहादुर सिहंले बझाङ्ग राज्यको राजकाजकोे काम चिसोको समय अर्थात् मंसिरदेखि चैत्रसम्म चैनपुरमा बसाई सरेर चलाउने र बा“की गर्मीयाममा रजन्तोलामा बस्ने हुनाले पनि राजकाज चलाउने समयतालिकाले समेत रजन्तोलामा जन्मेका हुनु भन्ने प्रमाणित हुन्छ । चैनपुर कुमालतडो हो चिसो छल्न राजा बसेपछि मात्र चैनपुर (आराम गर्ने नगरी) भएको इतिहास नै यसको प्रमाण हो ।
ड्ड हाल चैनपुर माथिको तत्कालिन सुनी समेत रामभद्र जोशीले जन्मकुन्डली लेखे बापत काम गर्न पाउने क्षेत्र राजाबाट उपाधिस्वरुप पाउनुले पनि सो पुष्टि गर्दछ । जयपृथ्वी बहादुर सिंह हालको कडेल गाविस वडा नम्बर ७ रजन्तोलामा नै जन्मेका हुन् भन्ने प्रमाणको रुपमा तत्कालीन मुम्ला मौजाका तालुकदार मुखिया असमान कडायतका श्रीमती तिता देवी कडायतले जयपृथ्वी बहादुर सिंहलाई बच्चामा दुध खुवाएकोले धाईआमा भएवापत राजाले रजन्तोलाको छेवैको जग्गा निजको नाममा दर्ता गरिदिएको प्रमाण छ । त्यो जग्गाको कित्तँ नम्बर १४ हो जसलाई बड्डाखाने गडो (रजन्तोलो) भन्दछन् ।
राणा परिवारसंग नजिकको सम्बन्ध भएका कारण यिनको अक्षर शुभारम्भ दरवारबाट शुरु हुदै प्राथमिक शिक्षा राणाका बालबच्चा मात्र पढ्न पाउने थापाथली दरवार पाठशालामा भयो । माध्यमिक शिक्षा दरबार हाईस्कुलबाट पुरा भएको र १९५१ सालमा भारतको कोलकाता विश्वविद्यालयबाट म्याट्रिक पास गरे । तिव्र बुद्धिका कारण जयपृथ्वी बहादुर सिंह प्रतिभावान विद्यार्थीका रुपमा चिनिदै गए । १९५२ सालमा भारतको इलाहवाद कलेजबाट आईए पास गरे भने १९६२ सालमा कोलकाता विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह पास गरे ।
राजा जयपृथ्वी बहादुर सिंह चार जना आमामध्ये गर्भाधारणका दृष्टिले भाई देविजंग बहादुर सिंहभन्दा कान्छा हुनु पर्नेमा आठ महिनामै जन्मेर बिक्रम बहादुर सिंहका जेठी रानी पट्टीका जेठा छोरा हुन् । बझाङ जस्तो दुर्गम राज्यमा जयपृथ्वीको जन्म भएता पनि जंग बहादुर राणाको छोरीपट्टीका नाती भएका कारण उनmले राणाहरूको ऐशआरामको जीवनशैली र राज्यसत्ताका लागि गर्ने खुराफात र लडाईबारे राम्ररी बुझेका थिए । १९४७ सालमा जयपृथ्वी बहादुर सिंह काठमाडौमा अध्ययन गरिरहेकै बेला राजा बिक्रम बहादुर सिंहले कान्छि रानी पार्वती भित्राईएपछि दरबारमा जयपृथ्वी बहादुर सिंहका आमा बुवाले पार्वतिलाई भित्र्यानी (कमसल जातकी) भनेर भान्छा चलाएनन् । सोही भातभान्छा नचलाएका कारण राणाहरुले बिक्रम बहादुर सिंहको राज्य खोसेर लगत्तै यूवराज जयपृथ्वी बहादुर सिंहलाई राजा घाषित गरे । आफ्ना बुवा हुदाहुदै आफुलाई राजा बनाएकोप्रति उनी सन्तुष्ट थिएनन् । बुवाको राज्य खोसेर आफुलाई राजा बनाए पछि जयपृथ्वी बहादुर सिंहले एकातिर वुबाको विश्वास समेत गुमेको सोचे भने राणासंग बैचारिक दृष्टिकोणले टाढिन थाले । फलस्वरुप राणाहरुका ज्वाई भान्जाहरु आफ्नो नामसंग जंग जोडेर राणा परिवारका नातेदार हु“ भन्न मन पराउ“थे । तर जयपृथ्वी बहादुर सिंहले त्यो स्वीकार गरेनन् । जंग बहादुर राणाका छोरीपट्टीका नाती भए पनि उनको प्रतिभा देखेर राणाहरुले उनलाई आफ्नो लाइनमा उभ्याउन चन्द्र शमशेर राणाकी छोरी खगेश्वरी राणासंग १९५१ सालमा वैवाहिक सम्बन्ध जोडे । १९५३ सालमा उनका एक छोरी जन्मिइन्, तर उनको छोरीको ६ महिना मै मृत्यु भयो । त्यसपछि उनका सन्तान भएनन् ।
जयपृथ्बी बहादुर सिंहका सामाजिक कार्यहरू
राजा जयपृथ्वी बहादुर सिंह काठमाडौं मै अध्ययन गर्दैगर्दा उनका बुवाको राजगद्दी खोसेर राणहरुले उनलाई १९४७ मा बझाङ राज्यको राजा घोषित बनाए । उनकोे बझाङ बसाई भने छोटो रहेको विभिन्न अध्ययनले देखाउछ । राजा भईसकेपछि पढाईको सिलसिलामा लामो समयसम्म काठमाडौ तथा भारतमा रहेका देखिन्छन् । तर बझाङमा शासन गर्दा उनले धेरैं सामाजिक सुधारका काम गरेका थिए ।
उद्योग तथा ब्यापार
उनी सानै उमेरदेखि समाजको शैक्षिक, सामाजिक, आर्थिक अवस्थाबारे चिन्तित हुन्थे । उनले १९५५ सालमा बझाङ राज्यमा जातका आधारमा कसले के काम गरिरहेको छ भन्ने पहिचान गरेर सीप तालिम दिन केहि व्यक्तिलाई काठमाडौं पठाएका थिए । उनले सिलाई कटाईको तालिमका लागि रविदास दमाई , फलाम सम्बन्धी तालिममा रनि ल्वार, जुत्ता तथा छाला सम्बन्धी तालिमका लागि कालु सार्की तथा हातेकागज उद्योग, निगाला, तामा तथा ढलौट प्रशोधन सम्बन्धी तालिममा समेत पठाएका थिए । उनले आफ्नो राज्यलाई आर्थिक हैसियतमा माथि उठाउन विभिन्न ठाउहरुमा खनिजजन्य उद्योग सञ्चालनामा ल्याएका थिए । बझाङ्गको ब्यासको तामा खानी, कडेलको धाउ (फलाम) खानीको प्रशोधन, धमेनाको फलामखानी, र बुङ्गलको फलाम प्रशोधन गर्न लगाएका थिए । त्यसबेलाका बुङ्ली भदाला र धमेनाको फलाम खानीका अवशेष आजसम्म पाइन्छन् । आफ्नो राज्यमा उद्योगधन्दा खोल्नुका साथै तालिम दिलाएपछि बझाङ ल्याएर त्यस सम्बन्धी कार्य गर्न उत्पे्ररणा समेत जगाए । हालको सुर्मा गाँउपालिकाको लेकमा सुनखानी छ । त्यहाको सुन प्रशोधन गर्न थकुन्नाडा गाउभन्दा माथि बाणा (सुन प्रसोधन गर्ने मान्छे) ल्याई काम गर्न खोज्दा त्यतिबेला सुर्मा देवीले नमान्दा बाणाले काम गर्ने सबै जमिन भासिएर खाल्डो परेको इतिहास छ । जमिन भासिएर खाल्डो हुनुलाई बझाङ्गी भाषामा भाउतो भन्ने चलन छ । त्यसकारण भाउतो परेको ठाउलाई भौतोली भनिन्छ ।
नागरिक अधिकार तथा सामाजिक न्याय
१९५६ सालमा बझाङ्गी जनतालाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार सुनिश्चित गर्न कानुनी अधिकार दिलाउन न्यायालय खडा गरे । यो बझाङ्गको न्यायालय सम्बन्धी काम गर्ने वैधानिक संयन्त्र हो । जसको प्रमाण गाउमा आफुलाई कसैले अन्याय ग¥यो त्यसका विरुद्धमा न्यायालयमा जानु भनि आफ्नो राज्यको प्रत्येक गाउमा ओखेडाहरुबाट ठुलो स्वरले कराउने चलन बसालेको व्यवस्थाबाट स्पष्ट हुन्छ । साथै, एक लिपीबद्ध सूचना समेत गाउगाउमा टास्न लगाएका थिए । रफाज नेपालले प्रकाशन गरेको किताबका अनुसार ः
स्वतिश्री बझाङ तहबिलकस्य पडेस नौबिस दरा गाँउका मुषिया भलाआदमी रयेतगैरके पुर्जी उप्रान्त अब उपान्त अमालले अन्याये गर्या अदालत सकार गर्नु ,अदालतले अन्याय गर्या अपिल तहबिलमा दिन आउनु , तहबिलले गर्याका निसापले पनि चित्त नबुझ्याहरुका लागी नेपाल लेखि पठाउनु नेपाल जाहेरी गरि पठाया पछि हामी पनि जानु पर्लाकी ,कारिन्दाका नाउमा कराया पछि हाम्रो पनि पत्ता लाग्दैन की भन्या डर दुनियाँले कत्ति लिनु पर्दैन निसाप पाँउन्या छौ भन्या बेहोराको देख्न्या थाहा पाउन्या हक्तिहार टासी दिनु भन्या यस तहबिलका हाकिम खर्दार जयेनारायण जोशीका नाउका नाउमा १९५६ साल मार्ग बदी १० रोजमा श्री राजा जयपृथ्बीबहादुर सिंह बाट सनद गरिपठाई बक्स्याको हुनाले सो बमोजिम ईक्तिहार को पुर्जी टासि दियाको छ । आज उप्रन्त अमानले अन्याये गर्या अदालतले निसाप दिन्या छन् अदालतले अन्याय गर्या तहबिलमा कराउन आउनु र तहबिलबाट निसाप पाउन्या छौ । तहबिलले पनि अ‍ैन छोडी अन्याये गरयो भन्या, अन्याये गर्याको पक्का प्रमाराा जुटाईनेपालराजा श्री जयपृथ्बी सिंहबाट निसाप दिबक्सीन्या छ हाकीम कारिन्दाका नाउमा कराया भन्या हाम्रो पत्ता लाग्दैन भन्या डर तीमी दुनीया रयेतीहरुले कत्ति मान्नु पर्दैन भन्या ईक्तिहार पुर्जी टासी दियाको छ सो बमोजीम गर्ने काम गर ईति संम्बत १९५६ माघ बदी १० रोज ६ शुभम्………….
१९६७ सालसम्म बझाङ बस्दाको अवधिमा राजा जयपृथ्वी बहादुर सिंहले क्रान्तिकारी भुमिसुधार व्यवस्था लागू गरि बझाङ्गी राजारजौटाको नाममा रहेका जग्गामा मोहयानी हक दिलाएर सर्वसाधारण जनताका नाममा दर्ता गराएका दिए । साथै खेत तथा जग्गा कसैले पनि बा“झो राख्न नपाउने गरि उर्दि जारी गरे । भने गाउका साहु महाजनले जम्मा गरेको रकम सर्वसाधारणलाई वितरण गरे ।
भौतिक पूर्वाधार
१९६७ र १९६८ सालमा बझाङ्गबाट डोटीसम्मको घोरेटो बाटो निर्माण गरे । भारतको टनकपुरसम्म जानका लागि डासा, फलिण्डे, तवापड, स्वर्गाद्वरी जस्ता कडा चट्टान काटेर बाटो बनाउन लगाए । जनतामाझ लोकप्रिय राजाका रुपमा सबैको मनमा बस्न सफल भए । त्यस्तै, उनले चिनको ताक्लाकोट हुदै मानासरोवर जाने बाटो र बीच बीचमा धर्मशालाहरु समेत निर्माण गरेका थिए ।
शिक्षा
बझाङ राज्यमा तथा सुदूर तथा पश्चिमको शिक्षाका ताराका रुपमा समेत राजा जयपृथ्वीलाई लिईन्छ । १९६८ सालमा काठमाडौंको नक्सालमा रहेको सत्यवादी पाठशालालाई बझाङको मेल्लेकमा ल्याएर स्थापना गरेपछि पश्चिम क्षेत्रको शिक्षाको विकासको कालखण्ड यहीबाट सुरु भएको मान्छि । बझाङमा सबैका बालबालिकालाई शिक्षा तथा अभिभावकहरुलाई प्रत्येक हप्ताको मंगलबार भोज खुवाउने व्यवस्था गरे । सत्यवादी पाठशाला नजिकै हातेकागज उद्योग समेत थियो । दिउसोतिर बालबालिकाहरुलाई हातेकागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ बनाउन लगाउथे र त्यहीबाट उत्पादित कागज र कटुसका पातको मसी बनाएर निगालोको कलमले लेख्ने बानी विकास गरे । राजा जयपृथ्वी बेंग्ंलोरमा रहदा पनि सत्यवादी पाठशालाका हेडमास्टर रामदत्त अवस्थीलाई प्रगती प्रतिवेदन र कार्ययोजना पेस गर्न लगाउथे । रफाज नेपालले प्रकाशन गरेको पुस्तकमा उल्लेख भएअनुसार “जयपृथ्वी बहादुर सिंहले दिएको मार्गदर्षनको केही अशं– बझाङ राज्यका प्रत्येक दरा क्षेत्रबाट चार चार जना विद्यार्थी ल्याउने र पढाउने, गरिब विद्यार्थीलाई एक कम्बल र सिधा खाना दिने । विद्यार्थीहरुलाई नेपाली र हिसाबमा बढी जोड दिने, तर हिन्दी भाषामा बातचित गर्न दिने, ताकि भारततिर रोजगारी तथा कुल्ली काममा जा“दा चिठ्ठी लेख्न सकुन र आफ्नो आयआर्जनबाट नठगिउन् । विद्यार्थीलाई सत्यवादी बनाउने । ह्यूमानिस्ट पत्रिका पढाएर सो सम्बन्धी व्यवहार गर्न लगाउने । दुनिया“का छोराहरुलाई निःशुल्क अंग्रेजी पढाउने । राजाका भाईभारादारका छोराहरुलाई समेत निःशुल्क अग्रेजी सिकाउने ।
यिनले शिक्षा क्षेत्रको विकासका लागि १९५८ सालमा “अक्षेरांक शिक्षा” नामक पुस्तक लेखेर पाठशालामा पढाउने व्यवस्था गरे । यो नेपालको प्रथम पुस्तक हो । यो पुस्तकमा क का, कि की, अंक, पहाड, सवाय, पौने, समय, नापतौल, महिना, बार, राशि, नक्षेत्र, ऋतु सम्मका सबै विषयवस्तु थिए । त्यसपछि बालबोध ज्ञानमाला, श्रेष्ता दर्पण, पदार्थ तत्व, भूगोल विद्या, प्राकृत, व्याकरण शिक्षा दर्पण, तत्व प्रसंसा, व्यवहारमाला जस्ता थुप्रै किताब लेखे ।
स्वास्थ्य
१९६६ सालमा सबै नागरिक स्वस्थ्य हुन्, सबै नागरिक निरोगी हुन् भन्ने मान्यताका साथ बंगलादेशबाट डाक्टर ल्याएर खग् आयुर्वेद औषधालयको बझाङमा स्थापना गरी शारीरिक चिरफार तथा औषधीमुलो गर्ने व्यवस्था मिलाए । त्यसै गरि हालको छबिसपाथीभेरा गाउपालिका–२ मेल्लेकमा हावाबाट चल्ने घट्टको व्यवस्था गरे । त्यस्तै, मेल्लेकमा इटाभट्टीको निमार्ण गरी “श्री जय” इटा बनाए । त्यसका अवशेष मेल्लेकमा जताततै भेटाउन सकिन्छ । साथै हुलाक, अदालत, कारागार, माल कार्यालय स्थापना गरे । नक्साल दरबार छोडेर बझाङ्ग सर्नुले राणा प्रशासनको मन दुख्यो र शंका उब्जायो, तब बझाङ्गी राजालाई आफ्नै निगरानीमा राखिराख्ने उद्देश्यले १९६४ सालमा उनलाई भारादारी अड्डाको प्रमुख अर्थात प्रधानन्याधीस पदमा नियुक्ति गरी काठमाडौं बोलाइए ।
हालसम्म पनि रहस्यमयी दैवीय शक्ति
यसरी बहुआयामिक प्रतिभावान व्यक्ति धार्मिक शक्तिका दृष्टिकोणले पनि उत्तिकै चर्चित थिए । उनको जीवनमा भएका दैवीय शक्तिका केहि उदाहरण ः
ड्ड जयपृथ्वीनगरको दरबारबाट कडेलको वडा नम्बर ८ मण्डीको लिस्सापानी भन्ने जंगलमा राती १२ः०० बजे शिद्धबाबा (महादेव) संग भेटघाट, वार्तालाप, र भजनकिर्तन गर्दथे । राजालाई राति भागेको देखेर रानीले चियो गर्ने क्रममा रानी सो ठाउमा पुग्दा शिद्धबाबा रिसाएर त्यसपछि भेटघाट हुन छोडेको भन्ने भनाई छ ।
ड्ड भारतको नैनिताल, देहेरादुनमा जुवा खेल्दा देहेरादुन, कुमाउ, गढवाल, अल्मोडा, जम्मुकाश्मिर, पिलिभित, बरेली, सम्मका ठूलाठूला जुवाडेको पैसा जितेका थिए रे । जुवा जितेको पैसाले उनले नैनितालमा नेपालीका लागि धर्मशाला बनाएका थिए ।
ड्ड जयपृथ्वी बहादुर सिंह तपी व्यक्ति हुन् भनि रानीले विवाहपूर्व नै सुनेकी थिइन । एकदिन जयपृथ्वीनगरको दरबारको झ्यालमा बसेर पातिभेरे लेक हेर्ने क्रममा रानीले हिउ खाने मनसाय राखिन् । उनले त्यो राजा तपी हुन् भन्ने कुरा बुझ्ने अभिप्रयायले राजालाई चैत्रको महिनामा हिउको माग गरेकी थिइन् । रानीको जिद्दी सामु लाचार भएका राजाले हातैमा हिउ पु¥याएको भनाई छ । उनले रानीलाई हिउ धेरै मन पर्छ भनेर चैत्र–बैशाखमा समेत हिउ खानका लागि हिउ खड्याउन ठाउको व्यवस्था गरे, जो अहिले पनि छदैछ । जसलाई हिउ खड्याएको (गाडेको) टालो (ठाउ) भन्दछन् यो कडेल ७ को जंगलभित्र पर्दछ ।
ड्ड काठमाडौं बस्ने राणाहरुले आफ्नी छोरीले पातिभेरेको हिउ हातैमा मागेर खाएको भन्ने खबर सुनेपछि शक्तिको परीक्षण गर्न किताब पढिरहेकै बेला घरको कोठाभित्र थुनेर राणाहरु बाहिर निस्कदा दरबारको आगनमा कुर्सीमा बसेर किताब पढीरहेको अवस्थामा भेट्टीएका थिए भन्ने भनाई पनि छ ।
जयपृथ्वी र गोर्खापत्र प्रकाशन
जयपृथ्वी बहादुर सिंह आफैं स्वतन्त्र हुन चाहन्थे र प्रजाहरु समेत स्वतन्त्र हुनु पर्दछ भन्ने मान्यता राख्थे । यही कारणले राणा शासक तथा आफ्ना मावली तथा ससुरा चन्द्र समशेरसंग कुरा नमिल्दा आपसमा खटपट देखाप¥यो । त्यसपछि १९५७ मा गोर्खापत्र स्थापनाका लागि आवश्यक सामग्री संकलन गरे । १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याए । गोरखापत्रको सिरानमा लिखित “सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद दुःख भाग्जनः ।। भन्ने मानवतावादी उद्धगार लेख्ने चलन पनि बसाले । आफै गोरखापत्र संस्थानको संचालक र प्रधान सम्पादक भएका नाताले १९५८ देखि १९७३ सालसम्म उनले गोरखापत्रमा लेख, रचना, कविता, नाटक, जानकारी, सूचना प्रकाशन गरी जनसमक्ष पु¥याउने काम गरे । यस समयलाई गोरखापत्र तथा पत्रकारिता जगतको स्वर्णिम युग भनिन्छ ।
उनी १९५९ सालमा भारतको कलकत्तामा नेपालका तर्फबाट काउन्सलरमा नियुक्त भए । १९६२ सालमा शैक्षिक विकासका लागि नक्सालको नाग पोखरीदेखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफै प्रधानाध्यापक नियुक्त भई सत्यवादी पाठशाला खोले । सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्वी जिवनयात्रा पुस्तकमा उल्लेख छ । सोही समयमा जयपृथ्वी बहादुर सिंहले निजामति सेवामा प्रवेश गर्दा परिक्षा लिने व्यवस्था मिलाए । जसलाई “जयपृथ्वी पास” भनिन्थ्यो । यो नै लोकसेवा आयोगको पहिलो अवधारणा हो । गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले १९६५ सालमा बेलायत जादा उनको काम तथा प्रतिभासंग प्रभावित भई बेलायतका सप्तम् सम्राट एडवर्डले मानार्थ “कर्णेल” को उपाधिले सम्मान गरेका थिए ।
१९७२ सालमा अष्ट्रियाका राजकुमार आर्कड्यक फर्डिन्यन्डको हत्याको निहुबाट शुरु भएको पहिलो विश्व युद्धमा ८५ लाख मानिसको ज्यान गएको घटनाले राजा जयपृथ्वी बहादुर सिंहलाई पिरोल्यो । त्यसपछि उनले राज्यको सम्पूर्ण काम बुबालाई सुम्पिएर भारतको देहेरादुन (नैनिताल) मा गए । ६ वर्षको बसाईमा “मानवतावाद” पुस्तक लेखे । जुन किताब नेपालको दर्शन सहितको सबभन्दा पहिलो पुस्तक हो ।
लेखक रोकाया बझाङमा क्रियाशील पत्रकार हुन्

प्रतिक्रिया दिनुहोस्