२० बैशाख २०८१, बिहीबार

प्रदेशगत आयमा ठूलो अन्तर



काठमाडौं । प्रतिव्यक्ति आयका आधारमा प्रदेशगत अन्तर उच्च देखिएको छ । यसले प्रदेशगत अर्थतन्त्रको आकारमा भिन्नता देखाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
औषत नेपालीको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर रहेकोमा प्रदेश ७ को प्रतिव्यक्ति आय ६ सय ६० अमेरिकी डलर मात्र छ ।
मुलुकको केन्द्रीय राजधानी रहेको प्रदेश ३ मा प्रतिव्यक्ति आय एक हजार पाँच सय ३४ अमेरिकी डलर छ । त्यस्तै, प्रदेश १ को प्रतिव्यक्ति आय एक हजार २४ र गण्डकी प्रदेशको प्रतिव्यक्ति आय एक हजार २१ अमेरिकी डलर छ । यसैगरी, प्रदेश ५ को प्रतिव्यक्ति आय आठ सय ६८ र कर्णाली प्रदेशको छ सय ७७ अमेरिकी डलर प्रतिव्यक्ति आय छ ।
त्यस्तै, कुल गार्हस्थ उत्पादनको आधारमा पनि प्रदेशगत अंशको अन्तर ठूलो छ । यस्तो अन्तरको अंश ३१ दशमलब नौ प्रतिशतदेखि चार दशमलब एक प्रतिशतको बीचमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल छ । यस प्रदेशले कुल गार्हस्थ उत्पादनमा ३१ दशमलब नौ प्रतिशत हिस्सा ओगटेको छ । कुल गार्हस्थ उत्पादनमा दोस्रो ठूलो योगदान गर्नेमा प्रदेश १, तेस्रोमा प्रदेश २, चौथोमा प्रदेश ५ र पाँचौमा गण्डकी प्रदेश छन् ।
त्यसैगरी, कुल गार्हस्थ उत्पादनमा प्रदेश ७ ले छ दशमलब तीन प्रतिशत र कर्णाली प्रदेशले सबैभन्दा कम अर्थात् चार दशमलब एक प्रतिशत हिस्सा ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार