२० बैशाख २०८१, बिहीबार

कैलारीको पौने ४४ करोडको बजेट



हसुलिया । कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि पौने ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाले संघीय सरकार र प्रादेशिक सरकारको अनुदान तथा गाउँपालिकाको आन्तरिक आय समेत ४१ करोड ७४ लाख ६३ हजार रुपैयाँ र गैरसरकारी संघसंस्थाको एक करोड ९८ लाख ७५ हजार रुपैयाँसहित सहित ४३ करोड ७३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बजेट प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले वित्तिय समानिकरण (चालु) तर्फ तीन करोड ५२ लाख ७५ हजार, वित्तिय समानिकरण (पुँजीगत) तर्फ दश करोड ५८ लाख २५ हजार र राजश्व बाडफाटतर्फ नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
त्यस्तै, वित्तिय समानीकरण सशर्ततर्फ १३ करोड नौ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरणतर्फ ७५ लाख ८० हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँटतर्फ ५३ लाख ६७ हजार र आन्तरिक आय तीन करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको उल्लेख छ ।
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ मा सडक कालोपत्रेलाई प्राथमिकताका साथ लागू गर्ने, आर्थिक वर्षभित्र सबै सडक ग्राभेल गर्नेे, नमुना विद्यालय संचालन, बाटो आफै बनाउँ कार्यक्रम कार्यान्वयन, क्षमता विकास तथा रोजगारी अभिवृद्धि कार्यक्रमलाई निरन्तरता, एक वडा–एक उत्पादन पकेट कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ ।
त्यस्तै, एक टोल एक उद्यमशील समूहलाई व्यवसायीकरण गरिने, दुई वर्षभित्र पूर्णरूपमा विद्युतीकरण, स्मार्ट तथा ई–भिलेज कार्यक्रम सञ्चालन, जनतासँग जैविक तत्बन्ध कार्यक्रम, आर्थिक विकास तथा पर्यटकीय प्रर्वधनका लागि पोखरी सुधार कार्यक्रम सञ्चालन, पूर्ण सरसफाई कार्यक्रम, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि कोष खडा गरिने लगायतका रहेका छन् ।
गाउँसभामा पत्रकार नरेन्द्र चौधरीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, सफल दहित कृषि समूहलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । त्यस्तै, शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत शिक्षाविद तथा नाष्टका प्राचार्य शिवहरि शर्मा मुडभरी, गाउँपालिकाका लेखा अधिकृत गणेशदत्त भट्ट, वडा नम्बर २ का सचिव खडकबहादुर शाह र वडा नम्बर ७ का वडा कार्यालय सहयोगी मोति चौधरीलाई सम्मान गरियो ।
त्यस्तै, दलित महिला अधिकार मञ्च, मोहना युवा क्लव खोनपुर, रोशनी सहकारी संस्था, मिलन सामुदायिक वन उपभोक्ता समूह, राष्ट्रिय मावि विचैपुर, सनहरा आधारभूत निमावि छोटीपलिया र सरस्वती प्रावि रतनपुरलाई सम्मान गरिएको थियो ।
त्यस्तै, गाउँसभामा कक्षा ८ का उत्कृष्ट विद्यार्थीका रूपमा जनकल्याण मावि पवेराका ज्योति चौधरी र राष्ट्रिय मावि बिचैपुरमा कक्षा ८ का छात्र दिनेश खडकालाई पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट अंकमा उत्तीर्ण छात्रा लक्ष्मी मावि पृथ्वीपुरकी रेखा साउँद र राष्ट्रिय मावि बिचैपुरका पुष्पराज खनाललाई जनही दश हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
यस्तै माछापालनतर्फ जयादेवी चौधरी र तरकारी खेतीतर्फ महेन्द्र चौधरीलाई पुरस्कृत गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार