१० श्रावण २०८१, बिहीबार

लघुबिमा सेवासम्बन्धी सम्झौता



धनगढी । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) बीच लघु बिमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
घोडीघोडा लघुवित्त संस्थाका कार्यकारी निर्देशक कुन्नुनारायण चौधरी र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले मंगलबार सो सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एलआइसीका प्रमुख कार्यकारी अधिकृत घोषले ग्रामीण भेगमा न्यून आय भएका व्यक्तिहरूको जीवन बिमा गरी आर्थिक रुपमा सुरक्षित तुल्याउने उद्देश्यले सो कार्यक्रम अघि बढाइएको बताए ।
उनका अनुसार लघु बिमा (बैंकासुरेन्स) भनेको हरेक व्यक्तिले जीवन बिमा सुविधा बैंक सहकारी मार्फत बैंकिङ सुविधा प्राप्त गर्नुका साथ साथै जीवन बिमा सुविधा प्राप्त गर्नु हो । उनले नेपाल सरकारको नीति बमोजिम दुर्गम ग्रामीण क्षेत्रका जनताले न्यून बीमा शुल्क भुक्तानी गरी अधिकतम जीवन विमा वापत सुविधा प्रदान गर्ने अभिप्रायले गत वर्षदेखि लघु विमा पोलिसी विक्री गर्दै आएको जानकारी दिए ।
सो नीति अनुसार एलआइसीले कञ्चनपुरको कृष्णपुरमा रहेको प्रभात सहकारी संस्था र धनगढी वडा नम्बर ७ देवहरिया कैलालीमा रहेको दाई कृषि सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरूको वार्षिक ६५ रुपैयाँ प्रतिव्यक्ति वार्षिक विमा शुल्क लिएर १० हजार रुपैयाँको बिमांक गरिएको उनले जानकारी दिए ।
उनले एलआइसीले व्यवसायका साथ साथै विभिन्न सामाजिक कार्य गर्न अग्रसर भइरहेको बताए । उनले अबका दिनमा शिक्षा, स्वास्थ्य तथा जनचेतनाको कार्य मार्फत समाजसेवा गरी ग्रामिण भेगका गरिबीको रेखामुनि रहेका जनताको समेत जिवन विमा गरी आर्थिक रूपमा सवल बनाई समाज निर्माणको लक्ष्य लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार