१० श्रावण २०८१, बिहीबार

प्रतिपक्षको अवरोधपछि संसद बैठक स्थगित



धनगढी । प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट वितरणमुखी र कार्यकर्तामुखी भएको आरोप लगाउँदै संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको विरोध सोमबार पनि जारी रह्यो ।

आइतबारको संसद बैठकमा बजेटमाथिको छलफलमा भाग नलिएर ‘मौन विरोध’ गरेको प्रमुख प्रतिपक्षी काँग्रेसले सोमबार संसदमा अवरोध गरेको छ । संसदमा प्रतिपक्षको अवरोधपछि सोमबारको बैठक स्थगित भएको छ ।

फाइल तस्बिर

सोमबारको संसद बैठक शुरु हुँदा साथ प्रमुख प्रतिपक्षी काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सासंदहरूले सरकारले प्रस्तुत गरेको बजेट सच्याउन माग गर्दै अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले मंगलबार दिउँसो ४ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरे ।

बैठकको शुरुमै काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा विकास योजनाको प्राथिमिकीकरण तथा योजना छनौट प्रक्रिया गलत भएकाले सच्याउन माग गरे । प्रमुख प्रतिपक्षी दलका नेता रावलले प्रदेश सरकार र आर्थिक मामिला तथा योजना मन्त्रीसित पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि संसदको कारबाही अवरुद्ध गर्नु परेको बताए ।

सरकारले बजेटमा विभिन्न शीर्षकमा डल्लो राखेर विनियोजन गरिएकोमा त्यस्तो बजेट स्पष्ट रूपमा उद्देश्य सहित टुक््रयाउन माग गरे ।

“यो बजेट गन्तव्यहीन यात्रा जस्तो देखिएको छ” संसदमा उनले भने– “सरकारले प्रतिपक्षको सुझाव तथा आग्रहलाई बारम्बार नजरअन्दाज गरिरहेको छ ।” उनले बजेट वितरणमुखी भएकोले घोर आपत्ति रहेको बताए । बजेट सिद्धान्त अनुसार डल्लो रूपमा बजेट राखेर रकम छुट्टयाउन नपाइने उनको तर्क छ । उनले सरकारसित बहुमतको दम्भ रहेको आरोप लगाए ।

संसद बैठक स्थगित भएपछि संसद परिसरमा पत्रकारहरूसित कुरा गर्दै नेता रावलले बजेट नसच्याउँदासम्म संसदमा विरोध जारी रहने बताए । उनले भने– “सरकारसँग बहुमत छ । विधि अनुसार उसले चाहेमा यो बजेट सजिलै पास गर्न सक्छ । तर हामी एक्लै भए पनि लडिरहनेछौं ।”

राष्ट्रिय जनता पार्टीका सांसद कृष्णबहादुर चौधरीले प्रतिपक्षको सुझावलाई सरकारले वेवास्ता गरेकाले प्रमुख प्रतिपक्षीसँगै आफूहरूले पनि संसदमा अवरोध गरेको बताए । उनले संसदमा आफ्नो पार्टीको तर्फबाट समेत बजेटमा संशोधनको माग सहित निरन्तर अवरोध रहने बताए ।

बजेट सच्याउन माग गर्दै प्रमुख प्रतिपक्ष दलले अवरोधपछि संसदबाट बाहिरिदै गरेका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सबैको चित्त बुझाउन नसकिए पनि बजेट राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र बजेटको सिद्धान्तका आधारमा पेस भएकाले संशोधनको कुनै गुञ्जायस नभएको बताए ।

उनले प्रदेश गौरवका आयोजनाको अध्ययन गरी बजेट विनियोजन गर्नका लागि डल्लोमा रकम राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार