२५ भाद्र २०८१, मंगलवार

सुरक्षित वैदेशिक रोजगारबारे सचेत बन्दै



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९, शंकरपुरकी खेमा सुनारका श्रीमान वैदेशिक रोजगारीमा छन् । खेमाले आफ्ना श्रीमानको बीमा अभिलेख, पासपोर्टको फोटोकपी, कामको सम्झौतापत्र लगायतका कागजपत्रको फोटोकपी घरमा राखेकी छन् । उनका श्रीमान मलेसियामा काम गर्छन् ।
शंकरपुरकै तुलारानी चौधरीले पनि वैदेशिक रोजगारीमा रहेको आफ्नो छोराका सबै कागजपत्रको फोटोकपी गरेर घरमा राखेकी छन् । तुलारानीका छोरा विनोद वैदेशिक रोजगारीका लागि कतारमा छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ११ की कल्पना चौधरीले पनि आफ्ना श्रीमानलाई रोजगारी दिने कम्पनीसितको सम्झौतापत्र, बीमा अभिलेख, लगायत सबै कागजपत्रको प्रतिलिपि घरमा राखेकी छन् । उनका श्रीमान बुद्धिराम कामका लागि सयुंक्त अरब इमिरेट्सको दुबईमा छन् ।
उनीहरूले काम गर्दाखेरी केही दुर्घटना भयो भने सुनुवाई गर्न सजिलो होला भनेर सबै कागजपत्र घरमा राखेका हुन् । दुर्घटना मात्रै होइन वैदेशिक रोजगारमा जानेबेला हस्ताक्षर भएको सम्झौतापत्रमा उल्लेख भएअनुसार काम नपाइने, अर्कै कम्पनीमा काम गर्नुपर्ने, भने अनुसारको रकम नदिने र पठाउने एजेण्टले समेत ठगी गर्न सक्ने भएकोले कागजपत्रहरूको फोटोकपी मगाएर घरमा राखेको उनीहरू बताउँछन् ।
वैदेशिक रोजगारमा जानेहरूमध्ये अधिकांसले सम्झौताअनुसार काम नपाउने, काम पाए पनि भनेजस्तो तलब नपाउने जस्ता गुनासा गर्ने गरेकाले अहिले परिवारका सदस्यले आवश्यक कागजपत्रको फोटोकपी सुरक्षित राख्न शुरु गरेका छन् । खेमाले भनिन्– “श्रीमानले मलेसिया पुगेर काम शुरु गर्ने बित्तिकै मलाई सबै कागजपत्रको फोटाकपी पठाइदिनुभयो ।”
सञ्चार प्रतिष्ठान नेपाल कैलालीद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत गाउँगाउँमा समूह छलफल, सुरक्षित वैदेशिक रोजगारका विभिन्न पक्षमा जानकारी प्रवाह कार्यक्रममा सहभागी बनेपछि वैदेशिक रोजगारसम्बन्धी आवश्यक कागजपत्र सुरक्षित राख्नेबारे जागरुकता आएको उनीहरू बताउँछन् ।
“पहिला कसैलाई मतलव हुँदैनथ्यो” गौरीगंगा नगरपालिका वडा नम्बर ११ की कल्पना चौधरीले भनिन्– “सञ्चार प्रतिष्ठानले समूहमा छलफल चलाएपछि मात्रै हामीले वैदेशिक रोजगारीमा गएकाहरूका कागजपत्र मगाउन थालेका छौं ।” कागजपत्र आफ्नो साथमा भएपछि कुनै दुर्घटना भयो भने कानुनी लडाई गर्न सकिने उनले बताइन् ।
कामदार ठगीमा परेमा नेपालबाट पठाउने कम्पनीका नाममा मुद्दा हालेर क्षतिपूर्ति माग्न सकिने उनले बताइन् । कागजपत्रबारे मतलब नराख्ने महिलाहरू हेल्भेटाससँगको साझेदारीमा सञ्चार प्रतिष्ठान नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) परियोजनाले कागजपत्रहरूको महत्त्वबारे जानकारी दिएपछि उनीहरूले कागजपत्र राख्न शुरु गरेका हुन् । काममा ठगिएकाहरूलाई कागजपत्रका आधारमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहयोग गर्ने गरेको छ ।
कागजपत्र आफूसँग राखेर कम सुविधा दिने कम्पनीमा झुक्याएर कामका लागि पठाउने कम्पनी विरुद्ध मुद्दा हाल्ने तयारी गरेकी गौरीगंगा–११ की खेमा नेपालीले काममा सम्झौताअनुसार तलब नपाएपछि आफ्ना श्रीमान पाँच महिनामै घर फर्किन लागेको बताइन् ।
उनले श्रीमान फर्केपछि कामका लागि पठाउने नेपाली कम्पनी विरुद्ध कानुनी कारवाहीका लागि पहल गर्ने बताइन् । उनका श्रीमान कामको लागि पाँच महिना अघि मलेसिया गएका थिए । प्रति महिना नौ सय मलेसियन मुद्रा दिने सम्झौतापत्रमा उल्लेख भए पनि उनले पाँचमा महिनामा जम्मा नौ सय मलेसियन रिंगेट पाएको खेमाले बताइन् ।
कागजपत्रका प्रतिलिपिहरू घरमा राखिराख्दा विदेशमा जुनसुकै समस्या परे पनि नेपालबाट उद्धार तथा अन्य पहल गर्न सजिलो हुने भएकोले कागजपत्रहरू घरमा राख्न महिला समूहलाई जानकारी दिइएको सामी परियोजनाका संयोजक एकीन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार