४ जेष्ठ २०८१, शुक्रबार

योजना अलपत्र पार्ने ठेकेदारको खोजी



धनगढी । गृहमन्त्रालयको निर्देशन पश्चात जिल्ला प्रशासन कार्यालय कैलालीले योजना अलपत्र पार्ने ठेकेदारहरूको खोजी कार्य सुरु गरेको छ ।
सडक, भवन, पुल, सिँचाइ, खानेपानीलगायत पूर्वाधार योजनाको ठेक्का लिने, तर काम नगर्ने ठेकेदारको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा योजना अलपत्र पार्ने ठेकेदारको तथ्यांक पुगेपछि मन्त्रालयले निर्माणमा ढिलाई हुनुको यकिन जानकारी लिई कार्वाहीका लागि सिफारिस गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो । सो निर्देशन पश्चात जिल्ला प्रशासन कार्यालय कैलालीलेपनि सम्बन्धित ठाउँका प्रहरी मार्फत ठेकेदारहरूलाई जिल्ला प्रशासनमा पठाउन पत्र काटेको थियो । पत्र काटेपछि केही ठेकेदारहरू सम्पर्कमा आएपनि केही अझैसम्म सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्माण कार्यको म्याद थपेर काम गरिरहेका ठेकेदारहरूलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएको र काम ठप्प पारेका ठेकेदारहरूलाई कारवाहीको तयारी थालेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । सम्पर्कमा नआएका ठेकेदारहरूलाई प्रहरी परिचालन गरी गिरफ्तार गरिने उनले बताए ।
निर्माण कार्यमा ढिलाई गर्ने कैलालीका १७ जना ठेकेदारको नाम गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार