२ जेष्ठ २०८१, बुधबार

मूल्यबृद्धिको विरोधमा आन्दोलन जारी



धनगढी । इन्धनको मूल्य बृद्धिको बिरोध गर्दै नेपाल विद्यार्थी संघ कैलालीले बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिएका छन् ।
वर्तमान सरकार गठन भएपश्चात पाँच पटक इन्धनको मूल्य बृद्धि भएकाले यसको प्रत्यक्ष मार जनतामा परेको भन्दै नेपाल विद्यार्थी संघले मूल्य बृद्धि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।
नेविसंघले जिल्ला प्रशासन कार्यालय अगाडि करिब एक घण्टा नाराबाजी सहित धर्ना दिएको थियो । धर्नामा विद्यार्थीहरूले प्रधानमन्त्री तथा अर्थमन्त्री विरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन अगाडि धर्ना दिँदै सवारी आवतजावतमा समेत रोक लगाएको थियो । प्रहरीले सवारी बन्द नगर्न आग्रह गर्दापनि सघंका कार्यकर्ताहरूले अस्विकार गरेका थिए ।
नेपाल विद्यार्थी संघले मूल्य बृद्धिलाई तत्काल नरोके थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने सरकारलाई चेतावनी दिएको छ । नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष भेष बमको नेतृत्वमा धर्ना भएको थियो ।
यस्तै, सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेसँगै आम नागरिकको यसको असर देखिएको छ । मूल्यबृद्धि गरेपछि यातायात व्यवसायीहरूले पनि सबै दूरीहरूमा चल्ने सवारी भाडामा बृद्धि गरेका छन् ।
अहिले निजी तथा सार्वजनिक सवारी धनीहरूले पेट्रोलियम पदार्थको मूल्य बृद्धिपश्चात आफूहरूले पनि भाडा बृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताएका छन् । डडेल्धुरा जिल्लामा पनि यसको प्रत्यक्ष असर परेको देखिएको छ ।
जिल्लाका विभिन्न दूरीमा चल्ने सवारी साधनमा झण्डै साठी देखि सत्तरी प्रतिशतले बृद्धि गरिएको छ । जसले गर्दा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको ढाड सेकिने गरी दु:ख भएको यात्रुहरूले गुनासो गरेका छन् । अहिले स्थानीय पोखरा देखि तुफानडाँडा बजार सम्मको भाडा समेत १५ रुपैयाँबाट २५ रुपैयाँ बनाइएको छ ।
यस्तै सवारी धनीहरूले पनि फरक फरक दूरीको मूल्य स्व–निर्धारण गरेका छन् ।
उता, मूल्यबृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले बुधबार बझाङको सदरमुकाम चैनपुरमा यातायात र बजार बन्द गर्दै जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा गाडेको छ ।
सो अवसरमा नेविसंघका जिल्ला अध्यक्ष दीपक भण्डारीले सरकारले मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन शुरु गर्ने चेतावती दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार