४ जेष्ठ २०८१, शुक्रबार

मूल्यबृद्धि फिर्ता गर– नेविसंघ



धनगढी । नेपाल विद्यार्थी संघ, कैलालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार कैलाली जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम अघि सार्ने जनाएको छ ।
नेविसंघका कार्यवाहक अध्यक्ष भेषबहादुर बमले ज्ञापनपत्र बुझाउँदै आज (बुधबार) जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा गाड्ने र एक घण्टा चक्का जामसहित विरोध प्रदर्शन गर्ने बताए ।
वर्तमान सरकारले एक सय दिनमा पेट्रोलियम पदार्थमा पाँच पटक मूल्यबृद्धि मात्रै नभई कालाबजारीया र माफीयाको चंगुलमा फसेर दैनिक उपभोग्य वस्तुमा समेत चरम मूल्य वृद्धि गरेको बताए ।
उनले सरकारलाई कल्याणकारी राज्य व्यवस्था अनुरूप चल्न बाँध्य गराउन र मूल्य वृद्धि यथाशिघ फिर्ता गराउन नेविसंघ संघर्ष कार्यक्रम गरिरहेको र फिर्ता नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाँध्य हुने बताए ।
नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १३ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार