४ जेष्ठ २०८१, शुक्रबार

अब घरैबाट विद्युत महसुल तिर्न सकिने



धनगढी । विद्युत महसुल बुझाउन घन्टौंसम्म नेपाल विद्युत प्राधिकरणको कार्यालयमा लाइनमा बस्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । विद्युतका ग्राहकले अब घरमै बसेर विद्युत महसुल बुझाउन सकिने सुविधा प्राप्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण शाखाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा लागू भएको जानकारी दिएको छ ।
विद्युत प्राधिकरण धनगढी वितरण शाखा प्रमुख धिरेन्द्रकुमार यादवले सो सेवा आइतबारदेखि लागू भएको बताए । उनले धनगढी र अत्तरिया क्षेत्रका विद्युत सेवाका ग्राहकले अनलाइनबाट नै विद्युत महसुल भुक्तानी गर्न सक्ने जानकारी दिए ।
विद्युत प्राधिकरणका अनुसार ई–सेवा प्रालि, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट प्रालि, हिमालय बैंक र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि विद्युत महसुल तिर्न सकिनेछ । त्यस्तै, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरूबाट पनि विद्युत महसुल बुझाउने सुविधा रहेको छ । यस्तो महसुल किओस्क, पोस डिभाइस तथा मोबाइल एप्सबाट पनि तिर्न सकिने छ ।
विद्युत महसुल बुझाउन अनलाइन सेवा लागू गरेको बारे जानकारी दिदै उनले भने– अबदेखि नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालयमा घन्टौंसम्म लाइन लागेर महसुल तिर्नपर्ने बाध्यताको अन्त्य हुने छ ।
प्राधिकरणको धनगढी वितरण शाखाका अनुसार यो सेवा लागू भएपछि अबदेखि धनगढीका ४३ हजार घरधुरी र अत्तरियाका १० हजार घरधुरी गरी ५३ हजार घरधुरी (ग्राहक) ले विद्युत महसुल तिर्न कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
शाखा प्रमुख यादवले घोडाघोडी तथा गौरिगंगा नगरपालिका र कैलारी गाउँपालिकाका ग्राहकले पनि यो सेवाको उपयोग गर्न सक्ने बताए । उनले प्राधिकरणले टीकापुर वितरण केन्द्रमा पनि ईन्टरनेटमार्फत विद्युत महसुल तिर्ने व्यवस्था गराउने तयारी गरिरहेको बताए ।
यसअघि धनगढी उपमहानगरपालिकाको फूलबारी, गोदावरी नगरपालिकाको ओलानी, चुरेको फल्टुडे लगायतका क्षेत्रका मानिसले महँगो भाडा तिरेर विद्युत महशुल बुझाउन कार्यालय आउनुपर्ने र लामो समय लाईनमा बसेर समय खर्चनुपर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार