पेट्रोलियम पदार्थ अभाव, कालोबजारी मौलायो
लम्की । कैलालीको पूर्वी क्षेत्रमा केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव भएको छ । धेरैजसो पेट्रोल पम्पमा ७/८ दिनदेखि तेल आएको छैन । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि बजारमा भने खुलेआम बढी मुल्यमा बिक्रीवितरण भइरहेको छ ।
पेट्रोलपम्पमा एक सय आठ रुपैयाँमा पाइने पेट्रोल बजारमा प्रतिलिटर एक सय ४० देखि एक सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । कैलालीको लम्की, चिसापानी, बलिया, भल्का, मोतिपुर, टीकापुर, सुखड, चिसापानी लगायतका बजारमा खोका, किरानापसलमा समेत बढीमुल्यमा पेट्रोल बिक्री हुने गरेको छ ।
बलियास्थित शान्ति पेट्रोल पम्पका सञ्चालक रामेश्वर चोैधरीले एक सातादेखि पेट्रोल पम्पमा पेट्रोल नआएकाले अभाव भएको बताए । उनले पेट्रोलपम्पमा तेल आएका बेला व्यापारीले ड्रममा भरेर लैजाने गरेको र नदिएमा एउटै मोटरसाईकलमा दिनको २/३ पटक भर्ने गरेको बताए । उनले स्थानीय प्रशासनलाई पेट्रोलमा भइरहेको कालोबजारी नियन्त्रण गर्न आग्रह गरे ।
प्रहरीले पनि बजारमा पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको स्वीकारेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउँदले बजार अनुगमन जारी राखेको र कालोबजारी गर्नेमाथि कारवाही गरिने बताए ।
कैलालीको राजमार्गका बजारहरूमा बोतलमा पेट्रोल भरेर पसलपसलमा देखिने गरी झुण्ड्याइ रहेको पाइन्छ ।