२० बैशाख २०८१, बिहीबार

६४ प्रतिशत राजश्व संकलन



धनगढी । कैलाली भन्सार कार्यालयले आर्थिक वर्षको फागुन मसान्तसम्म ६४ प्रतिशत राजश्व संकलन गरेको छ ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब ८७ करोड ९९ लाख ५१ हजार रुपैयाँ लक्ष्य लिएकोमा फागुनसम्ममा दुई अर्ब ४९ करोड ९१ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
कैलाली भन्सार कार्यालयलाई विगतको तुलनामा चालू आर्थिक वर्षका लागि राजश्व संकलन लक्ष्य निकै बढाएर दिइएको छ । भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७३/७४ को तुलनामा चालू आर्थिक वर्ष २०७४/०७५ का लागि राजश्व संकलन लक्ष्य ५४ प्रतिशत बढी निर्धारण गरिएको थियो ।
लक्ष्य ह्वात्तै बृद्धि गरेर दिएका कारण कार्यालयलाई लक्ष्य प्राप्त गर्न कठिनाई भएको भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले बताए ।
गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालय कैलालीलाई दुई अर्ब आठ करोड ९१ लाख ६० हजार रुपैयाँ राजश्व संकलन लक्ष्य दिइएको थियो । गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले तोकिएको राजश्व संकलन लक्ष्यभन्दा सतप्रतिशत भन्दा बढीले राजश्व संकलन गरेको जनाएको छ । सो कार्यालयले गत आर्थिक वर्षमा दुई अर्ब ११ करोड ४५ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
कार्यालयले आर्थिक वर्ष २०७४/७५ को साउन र भदौ महिनामा तोकिएको लक्ष्य प्राप्त गर्न सकेको छैन । कार्यालयले दिएको तथ्यांकअनुसार असोज महिनामा सबैभन्दा बढी राजश्व संकलन गरेको छ । सो महिनामा कार्यालयले लक्ष्यभन्दा एक सय २५ प्रतिशत बढीले राजश्व संकलन गरेको छ । कार्यालयले साउन महिनामा २७ करोड १५ लाख ९६ हजार लक्ष्य दिएकोमा १९ करोड ४३ लाख ५१ हजार अर्थात् ७१ दशमलव ५६ प्रतिशत राजश्व संकलन गरेको थियो ।
त्यस्तै, भदौंमा २१ करोड ९६ लाख २५ हजार, असोजमा ३४ करोड १८ लाख १४ हजार, कार्तिकमा ३३ करोड ७२ लाख ४९ हजार, मंसिरमा ३६ करोड ७९ लाख ३८ हजार राजश्व संकलन गरेको छ । त्यस्तै, पुसमा ३४ करोड चार लाख ५७ हजार, माघमा ३३ करोड ९६ लाख ६३ हजार र फागुनमा ३५ करोड २७ लाख ३० हजार राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
कैलाली भन्सार नाकाबाट हाईस्पिड डिजेल, पेट्रोल, विस्कुट, सिमेन्ट, कागज, ग्याँस, खाद्यान्न, खैनी, पत्थर कोईला, ग्लेज टाईल, चकलेट, सवारी साधन तथा स्पेयर पार्टस् लगायतका सामान आयात भइरहेका छन् ।
भन्सार प्रमुख उप्रेतीका अनुसार कार्यालयले पेट्रोलियम पदार्थबाट ४० प्रतिशत, विस्कुटबाट सात प्रतिशत, टायल्स, मार्वल, ट्याक्टर, खाद्यान्न लगायत अन्यबाट बाँकी राजश्व संकलन गर्ने गरेको छ । उनले भन्सार कार्यालयबाट चिनी आयात भएको नदेखिएको बताए । भन्सार प्रमुख उप्रेतीले कैलाली भन्सार कार्यालयबाट निर्यात हुने सामान न्यून रहेको बताए । उनका अनुसार कैलाली भन्सारबाट खैर, कित्था मात्र निर्यात भइरहेको छ । ७ नम्बर प्रदेशलाई जडिबुटी उत्पादनमा राम्रो प्रदेश मानिएको छ ।
प्रदेशको कैलाली भन्सार र महेन्द्रनगर भन्सार कार्यालयमा जडिबुटीको परीक्षण गर्ने स्थान नहुँदा यस क्षेत्रमा उत्पादन भएका जडिबुटीहरू नेपालगञ्ज भन्सार हुँदै भारत निकासी हुने गरेको छ । भन्सार प्रमुख उप्रेतीले यस प्रदेशका लागि कुनै एक स्थानमा जडिबुटी परीक्षण केन्द्र राख्नुपर्ने माग गरे ।
उनले यस क्षेत्रमै उत्पादन हुने सामानहरू पनि भारतबाट आयात भइरहेको बताए । ‘सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न नीति, योजना बनाउन जरुरी छ’ उनले भने ‘भन्सार कार्यालयले आयातलाई रोक लगाउन सक्दैन ।’ उनले कुन–कुन बस्तु स्थानीय उत्पादन हुन त्यो बारे सरकारलाई जानकारी गराएर विशेष योजना बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार