२० बैशाख २०८१, बिहीबार

माछामासुको आयातमा रोक लगाउन माग



धनगढी । कुखुरापालन तथा माछामासु व्यवसायमा संलग्न व्यावसायीहरूले भारतबाट माछामासु आयातमा पूर्ण निषेध गर्न माग गरेका छन् ।
पोल्ट्री तथा माछामासु व्यावसायी संघ कैलालीले सोमबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्र बुझाउँदै किसानहरूलाई समान सरकारी सेवा उपलब्ध गराउन पनि माग गरेको छ ।
भारतीय सरकारले त्यहाँका पशुपंक्षीपालक किसानलाई उच्च अनुदान दिएका कारण नेपाली बजारको तुलनामा आयातित माछामासुको मूल्य सस्तो हुने भएकाले स्थानीय किसानले सधैं नोक्सानी बेहोर्नुपर्ने अवस्था रहेको व्यावसायी संघको कथन छ ।
संघका अध्यक्ष जीतेन्द्र यादवले भारतीय बजारबाट माछामासु नेपालमा भित्रिने क्रम नरोकिने हो भने स्थानीय किसानहरू पलायन हुनसक्ने अवस्था सिर्जना हुने बताए ।
उनले भारतबाट माछामासु, कुखुरा तथा अण्डा आयातमा रोक लगाइएको भए पनि प्रहरी प्रशासनको सहयोगमा व्यापारीले भित्र्याइरहेको आरोप लगाए ।
मन्त्री चौधरीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारले किसानका लागि बर्सेनि विभिन्न शीर्षकमा अनुदान दिँदै आए पनि कर्मचारीहरूको मिलेमतोमा विचौलियाहरूले कुम्ल्याउने गरेको उल्लेख छ । पशुपंक्षीपालक किसानलाई सरकारी अनुदान, सहुलियत उपलब्ध गराउँदा पोल्ट्री व्यावसायी संघसँग आवश्यक समन्वय गर्न पनि ज्ञापनमा उल्लेख छ ।
सो अवसरमा मन्त्री चौधरीले भारतबाट माछामासु आयातमा पूर्णरूपमा निषेध गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार