२ जेष्ठ २०८१, बुधबार

राम्रो जागिर लगाइदिने भन्दै ठगी



धनगढी । फोनको घण्टी बज्यो । नचिनेको नम्बर थियो । फोन उठाउँदा उताबाट बोल्ने व्यक्तिले एकैचोटी प्रश्न गर्‍यो– ‘जागिर खाने हो ?’ नचिनेको फोन नम्बरबाट एकाएक यस्तो प्रश्न सोधिएपछि केहीबेर अकमलमा परे, जोशीपुरका सन्तोष चौधरी ।
‘नचिनेको नम्बरबाट जागिर लगाईदिन्छु भनेर फोन आयो’ सोमबार अनुमोदन दैनिकसंग सन्तोषले भने– ‘शुरुमा त विश्वास भएन । फोन काटे । केही बेरपछि पुन: त्यही नम्बरबाट फोन आयो । अपरिचित व्यक्तिले फोनमा भन्यो– युएनडिपीमा जागिर हुन्छ, राम्रो तलब सुविधा पाउनुहुन्छ ।’
सन्तोषले फोनमा बोल्ने व्यक्तिको परिचय मागे । उसले आफ्नो नाम पदमराज भट्ट भन्यो र युएनडिपीको प्रमुख भएको बताए ।
पदमराजले सन्तोषसहित थुप्रै युवायुवतिलाई युएनडिपी र त्यस्तै आकर्षक ठाउँमा जागिर लगाइदिने प्रलोभन गरेका छन् । सोमबार आफ्नो कथाव्यथा बताउन अनुमोदन दैनिकको कार्यालयमा पुगेका पाँच जना युवाले भने– ‘पदमराज भन्ने व्यक्तिले जागिर लगाईदिन्छु भनेर हामीसंग पैसा माग्यो, अहिले सम्पर्कबिहीन छ ।’
‘राम्रो जागिरको प्रलोभनमा परेका कैलालीकै घोडाघोडी नगरपालिकाका अर्जुन कुश्मीले भने– ‘त्यो पदम भन्ने मान्छेले दैनिकजसो फोन गर्दथ्यो र जागिर लगाइदिन्छु भनेर प्रलोभन दिन्थ्यो । मैले उसलाई भेटेको चाहि छैन, तर उसले भनेको स्थानमा रकम पठाए ।’ अर्जुनलाई पदमले युएनडिपीमा सुपरभाईजरको जागिर लगाइदिने भन्दै पाँच हजार रुपैयाँ माग गरेको थियो ।
अर्जुनले आईएमई मार्फत पदम भन्ने व्यक्तिको नाममा पैसा पठाएको बताए । पदमले अर्जुनलाई आफू दार्चुलामा फिल्डमा रहेको र आइएमई गरेर रकम पठाउन भनेका थिए ।
दार्चुलामा आइएमई मार्फत रकम पठाएको आधा घण्टापछि पदमराजसम्पर्कबिहीन भएपछि अर्जुन धनगढीस्थित युएनडिपीको क्षेत्रीय कार्यालयमा पुगेका थिए । ‘क्षेत्रीय कार्यालय पुगेपछि थाहा भयो त्यो (पदम भन्ने) मानिस युएनडिपीको कर्मचारी नै रहेनछ’ उनले भने– त्यहाँ पुगेपछि थाह भयो, उसले जागिर लगाइदिने भनेर धेरै मानिसलाई ठगेको रहेछ ।
जागिरको प्रलोभनमा ठगिएका नरेन्द्र चौधरीका अनुसार पदमराजले कसैलाई युएनडिपीमा सुपरभाईजर, कसैलाई ड्राईभर, कसैलाई सेक्युरिटी गार्डमा जागिर लगाइदिने भनेर ठगेका थिए । नरेन्द्रले पदम भन्ने व्यक्तिलाई आइएमई गरेर १५ हजार रुपैयाँ पठाएको बताए ।
सन्तोषले गत शुक्रबार (२३ मार्च) का दिन आइएमई गरेर पाँच हजार रुपैयाँ पठाएका थिए । उनले बैतडीमा रकम पठाएका थिए । तर, त्यस्तै, अर्जुनले दार्चुलामा र अर्काेले कञ्चनपुरमा आइएमई गरेका थिए ।
जागिरको लोभमा ठगिएका युवाहरूले भने– हामी त ठगियौ, अरु व्यक्ति नठगिउनु भनेर हामी सञ्चार माध्यममा आइपुगेका हौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार