२० बैशाख २०८१, बिहीबार

कृषिलाई अर्थतन्त्रको मुख्य आधार बनाउँछौं– नेपाल



टीकापुर । टीकापुरमा बिहीबारदेखि सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव शुरु भएको छ ।
महोत्सवको एक समारोहबीच पूूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । सो अवसरमा पूर्व प्रधानमन्त्री नेपालले नयाँ बन्ने सरकारले कृषिलाई नेपालको अर्थतन्त्रको मुख्य आधार बनाउने बताए ।
उनले नेपालको अर्थतन्त्रको जग कृषि भएकोले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा नयाँ सरकारले ध्यान दिने बताए ।
उनले नेपालीका घरमै मल, जमिन र पानी रहेकोले कृषिको विकाससँगै कृषिजन्य उद्योगको विकासको पनि ठूलो सम्भावना रहेको चर्चा गरे ।
उनले आफू प्रधानमन्त्री भएको बेला टीकापुरमा पोलिटेक्निक इन्स्टिच्युट, रानी जमरा कुलरिया सिंचाईं आयोजना लगायत विकासका पूर्वाधार खडा गरेको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य डाक्टर रणबहादुर रावल, जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापा, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, नेकपा एमाले नेता प्रेम साउँद, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेपबहादुर चौधरी, संघीय समाजवादी फोरमका दिनेश चौधरी, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल, नागरिक समाजका संयोजक फिरुलाल चौधरी, शान्ति समाजका केन्द्रीय सचिव टेकबहादुर सार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव उद्घाटन कार्यक्रम उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष परशुराम चपाईको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम सञ्चालन संघका महासचिव रामबहादुर भण्डारीले गरेका थिए भने उपाध्यक्ष राजेन्द्र शाहले स्वागत गरेका थिए ।
महोत्सव फागुन ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
उद्घाटन समारोहमा संघका तर्फबाट अध्यक्ष चपाईंले सरकारसमक्ष चार सुत्रीय माग प्रस्तुत गरे ।
मागपत्रमा खक्रौला, टीकापुर, कर्णाली चिसापानी, बड्डीचौर हुँदै, कर्णाली लोकमार्गसँग कालोपत्रे सडक निर्माण, सत्ती छोटी भन्सार कार्यालयको स्तरोन्नती गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, २०७२ भदौ ७ को घटनापछि टीकापुरमा खल्बलिएको समाजिक सद्भाव सुर्धान सरकारी स्तरबाट पहल गरिनुपर्ने र बर्दिया जोड्ने सनकट्टी घाट र दौलतपुर घाटमा पक्की पुल निर्माणको माग गरिएको छ ।
सो अवसरमा शैक्षिक क्षेत्रबाट मोहनराज उपाध्याय, सामाजिक क्षेत्रबाट प्रशान्त अर्याल, पर्यटन क्षेत्रबाट थर्कबहादुर शाह, कृषि क्षेत्रबाट दीपेन्द्र सोसी थारू, कला क्षेत्रबाट नवराज रिमाल, खेलकुद क्षेत्रबाट बबरजंग शाही र हाते घरेलु उत्पादन क्षेत्रबाट जुत्ता व्यवसायी लालबहादुर सार्कीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार