२० बैशाख २०८१, बिहीबार

आजदेखि टीकापुर महोत्सव



धनगढी । आजदेखि टीकापुरमा सञ्चालन हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७४ को तयारी पूरा भएको छ ।
महोत्सवको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । महोत्सव उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री नेपालमार्फत सरकारलाई पाँच बुँदे ज्ञापनपत्र बुझाइने आयोजक टीकापुर उद्योग वाणिज्य संघले जानकारी दिए ।
महोत्सव ११ दिनसम्म चल्ने बताइएको छ । महोत्सवका लागि सात सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष पर्शुराम चपाई, प्रथम उपाध्यक्ष राजेन्द्र शाह, निवर्तमान अध्यक्ष आनन्द हमाल, उपाध्यक्ष सुरेन्द्र केसी, महासचिव रामबहादुर भण्डारी, सचिव नैनसिंह केसी र कोषाध्यक्ष टेकराज बिष्ट रहेका छन् । त्यस्तै, १६ वटा उपसमितिहरू समेत गठन गरिएको छ ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चपाईले महोत्सवले यस क्षेत्रको आर्थिक विकासमा गहन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने– ‘हामी प्रमुख अतिथिमार्फत सरकारसमक्ष यस क्षेत्रको विकासका लागि पाँच बँुदे ज्ञापनपत्र बुझाउँदै छौं । यो पनि महत्त्वपूर्ण पक्ष हो ।’
टीकापुर महोत्सवका लागि स्टलहरू बुकिङ भइसकेको वाणिज्यले जानकारी दिएको छ । महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । टीकापुर उद्योग वाणिज्य संघले विगतकोभन्दा यस पटकको महोत्सव फरक हुने बताएको छ ।
संघले २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार