२० बैशाख २०८१, बिहीबार

कोइलाहा तालमा महोत्सव हुँदै



धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ स्थित कोईलाहा तालमा महोत्सव आयोजना गरिने भएको छ ।
तालको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले कोईलाहा ताल व्यवस्थापन समितिले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू परिकार, स्थानीय उत्पादन, व्यापारिक सामग्री लगायतका स्टलहरू रहने छन् । झण्डै १५ लाख लगानी रहने महोत्सवमा १५ लाख बराबरको आम्दानी हुने अनुमान गरिएको छ ।
महोत्सवमा कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिका एवं कैलारी गाउँपालिकाका लगायतका स्थानबाट गरी एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सो ताल व्यवस्थित भएको छोटो समय भएको छ । नेपाली सेनाको नम्बर २ राष्ट्रिय विकास गण बढैपुरले दुई दर्जन बढी भौतिक संरचना निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको थियो ।
कोइलाहा ठूलो ताल व्यवस्थापन तथा परिचालन समितिका कर्मचारी पहलबहादुर सलामीमगरले ताल अवलोकन गर्न पछिल्लो समय आन्तरिक तथा बाह््रय पर्यटकहरूलाई आकर्षण गर्न सफल भएको बताए ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया विकास कार्यक्रम अन्तर्गत सेनाले पहिलो चरण अन्तर्गत ९७ लाख ७४ हजार रुपैयाँ बराबरको लागतमा संरचना निर्माण गरेको थियो ।
ताल क्षेत्रमा पर्यटकहरूको सुविधाका लागि दुई वटा पिकनिक घर, खाना पकाउँने तथा मासु पोल्ने भाडा, शौचालय, ताल वरिपरि ग्राभिल बाटो समेत निर्माण गरिएको छ ।
तालमा जलयात्राका लागि चार वटा डुंगाको व्यवस्था गरिएको छ । तालको बीचमा शिव मन्दिर र दृश्यावलोकनका लागि ३० फिट अग्लो भ्यू टावर निर्माण गरिएको छ । तालको वरिपरि गरी ११ वटा प्रतीक्षालय, काठे पूल निर्माण, सौन्दर्यवद्र्धक बोटविरुवा समेत लगाइको छ ।
कैलारी गाउँपालिकाको स्वामित्वमा रहेको ७२ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलाही तालमा माछापालनका लागि पाँच वर्षका लागि एक करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको छ । सदरमुकाम धनगढीबाट ४० किलोमिटर र पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुर बजारबाट नौ किलोमिटर दक्षिणमा ताल अवस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार