२० बैशाख २०८१, बिहीबार

त्रिवेणी महोत्सव आयोजना हुँदै



धनगढी । धार्मिक पर्यटकीय क्षेत्रको उद्गमस्थलका रूपमा रहेको कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६, सोल्टामा त्रिवेणी महोत्सव २०७४ हुने भएको छ ।
चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपाल, कैलालीको आयोजनामा फागुन १३ गतेबाट महोत्सव सञ्चालन गरिने सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक संस्थाले महोत्सवमार्फत सो क्षेत्रको पर्यटन, कृषि, आर्थिक, धार्मिक, सांस्कृतिक एवं पर्यटनको सम्भावनालाई थप टेवा पुग्ने र सेती, कर्णाली र भेरीको त्रिवेणीको प्रचारप्रसार गरिने जनाएको छ ।
मञ्चका संयोजक वीरेन्द्रबहादुर रावलले महोत्सवले लगानीका अवसर सिर्जना, जडिबुटीको व्यावसायिक उत्पादनमा टेवा पुर्‍याउनका साथै सुदूरपश्चिमको मौलिक कला, संस्कृतिको संवद्र्धनमा योगदान पुर्‍याउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
संयोजक रावलले कर्णालीका माछालाई अन्य बजारसम्म पुर्‍याउने, धार्मिक पर्यटनको विकास र विस्तार, सुदूरपश्चिमको मुख्य द्वारका रूपमा रहेको कर्णाली, चिसापानी र त्रिवेणीलाई पर्यटन गन्तव्य स्थलका रूपमा स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको चर्चा गरे ।
उनले महोन्याल गाउँपालिका वडा नम्बर ७, कुइनेका वीरेन्द्रबहादुर माझीका पाँच वर्षीय छोरा आर्यनको क्यान्सर रोगबाट ग्रसित भएर हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेकोमा उनको सहयोगका लागि महोत्सवमा प्रत्येक टिकट बिक्रीमा एक रुपैयाँ संकलन गरिने बताए ।
पत्रकार सम्मेलनमा पर्यटन व्यावसायी रमणप्रसाद श्रेष्ठले र्‍याप्टिङको प्रचूर सम्भावना रहेको सो क्षेत्रमा पर्यटनको विकास लागि महोत्सवले उल्लेख्य टेवा पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार