२० बैशाख २०८१, बिहीबार

होटल व्यवसायी संघको सातौं जिल्ला अधिवेशन



धनगढी । कैलाली होटल व्यवसायी संघको २५ औं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन शनिबार धनगढीमा भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रलाई विकास र समृद्धितर्फ डोर्‍याउन होटल व्यवसायीको आवश्यकता रहेकाले आफूहरू सहयोग र समन्वय गरेर अघि बढ्ने बताए । उनले होटल व्यवसायीलाई ईमान्दार भएर व्यवसायी गर्न आग्रह गरे ।
कार्यक्रममा कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले होटल व्यवसायीहरूले होटलमा बस्न आउने सबैको विवरणहरू राख्न आग्रह गरे । ‘होटलमा विभिन्न प्रकारका व्यक्तिहरू आउँछन्, कहिले काही होटलमा हत्या, चोरी, डकैती, आत्महत्या लगायतका अपराधिक घटना पनि हुन सक्छन्,’ उनले भने, ‘हाम्रो अनुसन्धानलाई सहज र तपाईहरूलाई झन्झट नहोस् भन्ने चाहनुहुन्छ भन्ने होटलको आवगमन विवरणहरू राख्ने काम गर्नुहोस् ।’ उनले होटल व्यवसायीहरूलाई प्रहरी प्रशासनबाट अनावश्यक दु:ख दिने काम नभएको पनि बताए ।
कैलाली होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष महेश शाहको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर होटल व्यवसायी संघका अध्यक्ष वीरमन्जन बटाला, कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारी, कैलाली होटल व्यवसायी संघका कानुनी सल्लाहकार वीरबहादुर जेठारा, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारी, उपभोक्ता हकहित संरक्षण मञ्चका धनपति ढुंगेल, अत्तरिया होटल व्यवसायी ईकाई समितिका अध्यक्ष गणेश महरा, पोल्ट्री तथा माछा मासु व्यवसायी संघका उपाध्यक्ष केशव सुवेदी, मदिरा व्यवसायी संघका अध्यक्ष डिल्लीराज अवस्थी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका निवर्तमान उपाध्यक्ष श्याम महराले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव कलम बमले गरेका थिए ।
सो अवसरमा संघले होटल व्यवसायीमा सफल व्यक्तिहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मान हुनेमा धनगढी उपमहानगरपालिका–४ का वडा अध्यक्ष एवं होटल जलशा सञ्चालक समितिका अध्यक्ष दीपक थापा, १६ का वडा अध्यक्ष एवं भादा होम–स्टेका लक्ष्मीनारायण चौधरी, चुरे गाउँपालिका–१ का वडा अध्यक्ष एवं लालीगुँरास होटलका सञ्चालक हुकुम बोहोरा, डिभोटी होटलका सञ्चालक कृष्ण महरा, अछाम होटलका थिरबहादुर स्वाँर र होम–स्टे सञ्चालक होमकुमारी शेरचन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार