२३ बैशाख २०८१, आईतवार

गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक



धनगढी । धनगढीमा ११ दिनसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस खप्तड गोल्डकप प्रतियोगिताको आयव्यय मंगलबार सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवका महासचिव प्रकाश शाहीले प्रतियोगितामा ९१ लाख ४६ हजार नौ सय १६ रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरे ।
महासचिव शाहीका अनुसार आयोजक क्लवले एक लाख ६५ हजार पाँच सय १६ रुपैयाँ घाटा व्यहोरेको छ ।
पुस २१ गतेदेखि माघ १ गतेसम्म सञ्चालन भएको फुटवल प्रतियोगितामा ५० हजार बढी दर्शकले खेल हेरेको बताइएको छ ।
उनले खेल अवधिभर टिकट बिक्रीबाट १९ लाख रुपैयाँ आम्दानी भएको बताए । टिकट बिक्रीबाट २६ लाख रुपैयाँ संकलन हुने लक्ष्य राखिएको भए पनि प्रतिकुल मौसमका कारण लक्ष्य पूरा नभएको उनले बताए । गत वर्षको प्रतियोगितामा टिकट बिक्रीबाट १३ लाख रुपैयाँ संकलन भएको थियो ।
यस पटकको गोल्डकप प्रतियोगितामा एक सय र एक सय ५० रुपैयाँका टिकटको व्यवस्था गरिएको थियो ।
खप्तड गोल्डकपमा चौधरी ग्रुप, नेपाल टेलिकम, जगदम्बा गु्रप लगायतले प्रायोजन गरेका थिए ।
मोफसलको सर्वाधिक धनराशि पुरस्कार भएको गोल्डकपमा तीन हजार पाँच सय स्थायी र एक हजार पाँच सय दर्शक क्षमताका अस्थायी प्याराफिट निर्माण गरिएको थियो । प्याराफिट निर्माणमा तीन लाख ७० हजार खर्च भएको उल्लेख छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लवले आउँदो वर्ष आयोजना हुने तेस्रो संस्करणमा पुरस्कार राशी दोब्बर बनाइने बताएको छ । तेस्रो संस्करणमा विजेताले २२ लाख २२ हजार २२ र उपविजेताले ११ लाख ११ हजार एक सय १० रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
यस पटकको प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार ११ रुपैयाँ र उपविजेतालाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुयैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

महिला गोल्डकप फुटवल हुँदै
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले धनगढीमा महिला सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गर्ने भएको छ ।
धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता गर्न सफल भएपछि पहिलो पटक महिला फुटवल प्रतियोगिता आयोजना गरिने क्लवका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
प्रतियोगितामा ६ वटा स्वदेशी र दुई वटा विदेशी गरि आठ वटा टिमको सहभागिता रहने उनले जानकारी दिए ।
उनले प्रतियोगिताको विजेतालाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार