२३ बैशाख २०८१, आईतवार

खप्तड गोल्डकप फुटवल : टिकट बिक्रीबाट करिब १९ लाख आम्दानी



धनगढी । धनगढीमा ११ दिनसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस खप्तड गोल्डकप प्रतियोगितामा टिकट बिक्रीबाट करिब १९ लाख रुपैयाँ आम्दानी भएको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आयोजनामा गत १ गतेसम्म सञ्चालन भएको फुटवल प्रतियोगितामा ५० हजार बढी दर्शकले खेल हेरेको बताइएको छ । आयोजक क्लवका अनुसार टिकट बिक्रीबाट १८ लाख ७० हजार रुपैयाँ संकलन भएको छ ।
आयोजक क्लवका अध्यक्ष सुरेश हमालले चाँडै नै प्रतियोगिताको सम्पूर्ण आम्दानी र खर्च सार्वजनिक गरिने बताए । खप्तड गोल्डकपमा चौधरी ग्रुप, नेपाल टेलिकम, जगदम्बा ग्रुप लगायतले प्रायोजन गरेका थिए ।
मोफसलको सर्वाधिक धनराशी पुरस्कार भएको गोल्डकपमा तीन हजार पाँच सय स्थायी र एक हजार पाँच सय दर्शक क्षमताका अस्थायी प्याराफिट निर्माण गरिएको थियो ।
टिकट बिक्रीबाट २६ लाख रुपैयाँ संकलन हुने लक्ष्य राखिएको भए पनि प्रतिकुल मौसमका कारण लक्ष्य पुरा नभएको क्लवका प्रवक्ता ओमजङ चन्दले बताए । गत वर्षको प्रतियोगितामा टिकट बिक्रीबाट १३ लाख रुपैयाँ संकलन भएको थियो ।
यस पटकको गोल्डकप प्रतियोगितामा एक सय र एक सय ५० रुपैयाँका टिकटको व्यवस्था गरिएको थियो ।
टिकट व्यवस्थापन समितिका संयोजक धुव्र वरालले फाइनल खेलको दिन (माघ १ गते) सबैभन्दा बढी टिकट बिक्री भएको बताए । सो दिन ६ लाख २१ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।
त्यस्तै, पहिलो सेमीफाइनल खेलमा दुई लाख ७० हजार र दोस्रो सेमीफाइनल खेलमा दुई लाख ४७ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।
त्यस्तै लिग चरणको खेलमा पुस २७ गते एक लाख ९० हजारको टिकट विक्री भएकोमा उद्घाटन खेलका दिन एक लाख ६ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।
पुस २२ गते एक लाख एक हजार रुपैयाँको टिकट विक्री भए पनि त्यसपछि २६ गतेसम्म अत्यधिक चिसो र हुस्सु वढेका कारण दर्शकहरुको संख्या कम भएको आयोजक क्लवले जनाएो छ ।
अत्याधिक चिसोका कारण पुस २३ गते ७० हजार, २४ गते ९४ हजार, २५ गते ७५ हजार र २९ गते ८८ हजार रुपैयाँको मात्र टिकट बिक्री भएको थियो ।
आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लवले आउँदो वर्ष आयोजना हुने तेस्रो संस्करणमा पुरस्कार राशी दोव्बर बनाइने बताएको छ । तेस्रो संस्करणमा विजेताले २२ लाख २२ हजार २२ र उपविजेताले ११ लाख ११ हजार एक सय १० रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
यस पटकको प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार ११ रुपैयाँ र उपविजेतालाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुयैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार