२३ बैशाख २०८१, आईतवार

माघी मेला आयोजना हुँदै



धनगढी । माघी मेला समिति धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानको आयोजनामा पुस ३० देखि माघ एक गतेसम्म माघी मेला हुने भएको छ ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति बचाउने हाम्रो । मेची महाकाली भाई—भाई, मेलामा आउनेलाई हार्दिक बधाई’ नाराका साथ दुई दिने महोत्सव आयोजना गरिएको मेला समितिका संयोजक ओमप्रकाश चौधरीले जानकारी दिए । मेला बंगराकटानमा हुने भएको छ ।
मेलामा थारु कला र संस्कृतिका साथै ढिक्री, अन्दीको भात, रोटी, तरुल, घोंगी, चट्नी, गँगटा, मुसाको मासु, बंगुर, सिद्रा, वयरको चट्नी, सक्करगन्जी लगायतका परिकारहरु राखिने उनले बताए । मेलामा १९ वटा स्टल राखिने छन् ।
माघी मेलालाई सभ्य र रमाईलो बनाउनका लागि थारु संस्कृतिमा आधारित विभिन्न साँगीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको साँस्कृतिक समितिका संयोजक दिनेश चौधरीले जानकारी दिए । उनका अनुसार मेला अवधीभर थारु र पश्चिमेली पहाडमा गाइने देउडा समेतको प्रस्तुति हुने छ ।
मेलामा दिनेश चौधरी, रमेश मिशन, मनिराम चौधरी, दर्पन कुश्मीया र हिरण्डे सावदको प्रस्तुती रहने छ । मेलामा थारु संस्कृति झल्किने झाँकी र नाँचहरु प्रस्तुत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार