५ जेष्ठ २०८१, शनिबार

प्रदेश राजधानी धनगढीमै हुनुपर्छ– सांसद राना



धनगढी । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले प्रदेश नम्बर ७ को राजधानी धनगढी नै हुनुपर्ने बताएका छन् ।
आइतबार हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारण सभाको धनगढीमा उद्घाटन गर्दै सांसद रानाले प्रदेशको राजधानी कसैको दवाव, प्रभाव वा पहुँचका आधारमा नभई प्रदेशको विकासलाई ध्यानमा राखेर राजधानी तोकिनु पर्ने बताए ।
‘प्रदेशको राजधानीका लागि धनगढीमा पर्याप्त मात्रामा भौतिक संरचना, सूचना तथा सञ्चार, यातायात लगायतका सुविधा छन्,’ उनले भने– ‘सरकारले राजधानीको विषयमा विशिष्टीकृत रूपमा निर्णय लिनु हुँदैन, यसका लागि वृहत छलफल र बहसको आवश्यकता छ ।’
कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य डिल्लीराज पन्तले सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको सहकार्यले नयाँ सहकारीको वातावरण निर्माण हुने बताए । उनले सहकारी संस्थाहरूले वचत तथा ऋणका साथै सामाजिक कार्यमा लगानी बढाउन आग्रह गरे ।
कार्यक्रममा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/०७४ मा संस्थाको शेयर पुँजी एक करोड २७ लाख पाँच हजार सात सय रुपैयाँ पुगेको उल्लेख छ । संस्थामा हाल शेयर सदस्य एक हजार चार सय १२ रहेका छन् ।
संस्थाले गत आर्थिक वर्षसम्म १२ करोड ४४ लाख ९४ हजार एक ४४ रुपैयाँ बचत संकलन गर्नुको साथै १३ करोड ५८ लाख ९५ हजार दुई सय ७१ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
संस्थाका उपाध्यक्ष रोशन सिंहले स्वागत गरेको कार्यक्रममा लेखासमिति संयोजक टंकबहादुर विष्टले आर्थिक वर्ष २०७३/०७४ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कानुनी सल्लाहकार वीरबहादुर जेठारा, संस्थाका प्रबन्धक महेन्द्र शाही, राष्ट्रिय सहकारी संघ केन्द्रीय सदस्य भोजबहादुर बम, राष्ट्रिय सहकारी बैंकका किरण खत्री, शिखर नगरपालिका डोटीका प्रमुख जयराज जोशी, गडसेरा कृषि सहकारी संस्थाका अध्यक्ष दीर्घराज जोशी, सुदूर नेपाल वचत तथा ऋण सहकारी संस्थाका चेतराज पनेरू, पत्रकार हेमकर्ण विक, बजार प्रमुख मञ्जु शाही, शेयर सदस्य विष्णु पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा असल वचतकर्ता डम्मरी ठकुल्ला र कर्णसिंह पुडमाल, उत्कृष्ट ऋणी पदमबहादुर बोहरा, उत्कृष्ट वचत समूह संघर्षशील महिला वचत समूह तथा जेष्ठ नागरिक राधाकृष्ण भण्डारीलाई सम्मान गरियो ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव विमलकुमार जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार