२० बैशाख २०८१, बिहीबार

वैदेशिक रोजगार : ठगिएकाहरूको रकम फिर्ता हुँदै



धनगढी । दुई वर्षसम्म आफ्नो रकम फिर्ताका लागि हारगुहार गरिरहेका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७, मट्कौनाका मंगल थारूले बल्ल आफ्नो रकम फिर्ता पाएका छन् ।
सुरक्षित आप्रवासन परियोजनाको सहयोगमा मंगलले आफ्नो रकम फिर्ता पाएका छन् । उनले वैदेशिक रोजगारीमा जानका लागि दुई वर्षअघि एक लाख रुपैयाँ ऋण लिएको भएपनि जान नपाएपछि ऋण तिर्न मजदूरी गर्दै आएका थिए ।

मोरसिस देश पठाइदिने भन्दै छ जनालाई २५ लाख रुपैयाँ ठगी गरेका एजेन्ट चन्द्र चौधरी र पीडितहरूबीच छलफल गराउँदै आप्रवासी कामदार हकहीत संरक्षण केन्द्रका पदाधिकारी ।

मंगलले वैदेशिक रोजगारका लागि कतार जान साना किसान सहकारी संस्थासंग एक लाख रुपैयाँ ऋण लिएका थिए । मंगलले २०७३ साल भदौमा कोहलपुरका वैदेशिक रोजगारसम्बन्धी काम गर्ने एजेन्ट कृष्ण थारूलाई रकम र पासपोर्ट बुझाएका थिए ।
तर, कृष्णले उनलाई वैदेशिक रोजगारका लागि पठाएन । केही महिनासम्म आलटाल गरेपछि आफूलाई मलेसिया पठाउन खोजेको मंगलले बताए । ‘तर मैले कतार भएमात्रै जाने बताए’ उनले भने– ‘उसले मलेसिया मात्रै पठाउन सक्ने भनेपछि मैले उनी (कृष्ण) सँग आफ्नो पासपोर्ट र रकम फिर्ता मागे ।’ उनले ‘अहिले मसंग नभएको’ भन्दै पछि दिने बताए । मंगलका अनुसार कृष्णले एक वर्षसम्म रकम दिएन । २०७४ साल साउन ६ गते बल्लतल्ल ५० हजार रुपयाँको चेक दियो । तर, मंगलले सो चेक नसाटेको बताए ।
ऋण तिर्नका लागि मजदूरी गरिरहेका मंगलको सुरक्षित आप्रवासन परियोजनाका गौरीगंगा नगरपालिकामा काम गर्ने रिटर्नी स्वयंसेवक रमेश विकको भेट भयो । रमेशले परियोजनाका सेवाहरूबारे जानकारी दिएछि मंगलले आफ्नो समस्या सुनाएका थिए ।
मंगलले व्यक्त गरेको समस्याका आधारमा धनगढीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा ‘मंगल थारू ठगिएको केस’ दर्ता भयो ।
सूचना केन्द्रले मंगलको रकम फिर्ताका लागि कृष्णसँग फोनमार्फत आग्रह गरे, तर कृष्णले खासै चासो दिएनन् । रिटर्नी स्वयंसेवक रमेशका अनुसार उनी र पीडित मंगल मंसिर १८ गते कोहोलपुरस्थित एजेन्टको घरमा गएर रकम फिर्ताको कुरा गरे । तर, एजेन्ट कृष्णले आफूसँग रकम नभएको र मंसिर मसान्तसम्म रकम पठाइदिने बताए । तर, उनले सो मितिसम्म रकम पठाएनन् । बारम्बार ताकेता गर्दा पनि आलटाल गरेपछि मंगल र रमेश पुन: पुस १४ गते कृष्णको घर पुगेपछि बल्ल एक लाख रुपैयाँ असुल भयो ।
कैलालीमा स्थानीयस्तरमा रिटर्नी स्वयंसेवक, सूचना केन्द्र र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको पहलमा यस वर्ष १५ जनालाई ३३ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।
सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, धनगढीका अनुसार २०७४ बैशाख २८ गते विदेश पठाइदिने भन्दै गणेश आचार्यले लिएको पैसा चार जनालाई फिर्ता गराइएको छ । जीतबहादुर डंगौराले एक लाख, देशराम चौधरी र कुलवीर चौधरीले ९०/९० हजार र रामबहादुर चौधरी २५ हजार रुपैयाँ फिर्ता पाएको सूचना केन्द्रले जनाएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ५ प्रतापपुरका भावनादेवी थापाले पनि बल्लतल्ल एजेण्टबाट रकम पाएकी छन् । उनी भारतको बाटो कुवेत गएकी थिइन् । उनलाई स्वदेश फिर्ता ल्याउन उनका श्रीमान नरेन्द्रले एजेन्टलाई एक लाख ६० हजार रुपैयाँ दिए । तर, एजेण्टले काम गरेन । नरेन्द्रको सूचनाका आधारमा सूचना तथा परामर्श केन्द्र तथा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको पहलमा उनले रकम फिर्ता पाएका छन् ।
त्यस्तै, साउदीअरबबाट घर फर्किन कठिनाई भोगिरहेका कैलालीको वनबेहडाका वासुदेव बुढाले पनि सुरक्षित आप्रवासन परियोजनाको पहलमा गत साउन २५ गते घर फर्किएका छन् भने ४० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।
त्यस्तै, भने अनुसारको काम र तलब दिलाउन नसकेकाले गौरीगंगा नगरपालिका वडा नम्बर ४, खुरखुरियाका वीरेन्द्र कुँवरलाई एजेण्टले ८० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
गौरीगंगा वडैपुरका एजेन्ट चन्द्रबहादुर चौधरीले आप्रवासी कामदार हकहितको पहलमा २०७४ मंसिर १५ गते पाँच जननालाई २५ लाख रुपैयाँ फिर्ता गरेका छन् ।
उनले सुखडका रामगोपाल चौधरी, पहलमानपुरका रोजराम चौधरी र भजनीका उमेश चौधरीले सात/सात लाख र चौमालाका तुलसीराम चौधरीलाई दुई लाख तथा हसुलियाका वीरेन्द्र चौधरीलाई एक लाख ७५ हजार रुपैयाँ फिर्ता दिएका छन् । चन्द्रबहादुरले उनीहरूलाई मरिसस पठाउन २५ लाख रुपैयाँ लिएका थिए ।
त्यस्तै, वैदेशिक रोजगारमा जान एजेन्टलाई दुई वर्ष पहिले दिएको एक लाख ५० हजार र पासपोर्ट टीकापुरका पदमबहादुर विष्टले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको सहयोगमा फिर्ता पाएका छन् । वैदेशिक रोजगारमा जान एजेन्टलाई २०७३ मा दिएको ४० हजार रुपैयाँ र पासपोर्ट फिर्ता पाएर टीकापुरका खगेन्द्र साउँद भारत गएका छन् ।
परियोजनाले अघिल्लो आर्थिक वर्षसम्म एक करोड २० लाख ३० हजार आठ सय रुपैयाँ क्षतिपूर्ति दिलाइसकेको छ । त्योमध्ये १८ लाख ५८ हजार रुपैयाँ स्थानीयस्तरबाटै क्षतिपूर्ति दिलाइएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले बताए ।

पुस २२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार