२० बैशाख २०८१, बिहीबार

आधुनिक हुँदै राजी समूदाय



भजनी । प्राय: वनजंगलतिरै रमाउने अल्पसंख्यक समुदायका रूपमा रहेका राजी अहिले आधुनिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
जंगलमा मह काड्ने, गिठा, भ्याकुर, तरुल कोर्ने, नदीमा डुंगा चलाएर गुजारा गर्ने समुदायका परिचित राजी समूदाय करिब एक दशकदेखि आधुनिक खेतीमा संलग्न हुन थालेका छन् । २०६४ सालदेखि धान, गहुँ, तोरी, मसुरो, तरकारी खेती, बदाम खेतीका साथै बाख्रापालन तथा कुखुरापालनमा संलग्न हुन थालेका छन् ।
‘हामीसंग घरबास सहितको थोरै जग्गा छ, त्यसैले खेतीभन्दा बाख्रापालन र कुखुरापालन सहज हुने गरेको छ’ भजनी नगरपालिका वडा नम्बर–९, भुरुवाका राजी समुदायका अगुवा भीम राजीले भने– ‘हिउँदमा बगरमा बदाम खेती गर्नेहरूको संख्या पनि उत्तिकै छ ।’
राजी समुदायलाई आधुनिक खेतीतर्फ आकर्षित गर्न विभिन्न संघसंस्थाले विभिन्न तालिम प्रदान गर्नुका साथै बाख्रा, कुखुरा तथा विभिन्न बालीका वीऊ प्रदान गरिरहेका छन् । राजी समुदायले वीऊबैंकको पनि स्थापना गरेका छन् ।
पछिल्लो पटक भजनी नगरपालिकाको सहकार्यमा फाया नेपालले राजी समुदायको जीविकोपार्जनमा सघाउ पुर्‍याउन तथा पोषण सुरक्षाका लागि कुखुरा उपहार कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए ।
सो कार्यक्रम अन्तर्गत हाल एक सय ६० राजी परिवारले कुखुरा पालन गरिरहेको बताइएको छ । प्रत्येक राजी परिवारले गिरीराज जातका १० कुखुरा लिएर कुखुरा पालन गरिरहेका छन् । चार महिनामा बिक्री गर्न मिल्ने कुखुरा कम्तीमा चार र बढीमा आठ किलोग्राम तौलका हुने भएकाले उत्साहित भएको भुरुवागाउँका प्रभु राजीले बताए ।
‘राजी समुदायले पालिरहेका कुखुरा राम्रोसंग हुर्केका छन्, उनीहरूले राम्रो आम्दानी पाउने सम्भावना छ’ गाउँमै गएर कुखुरामा देखापरेको समस्या बुझेका जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर बसन्तबहादुर सिंहले भने– विभिन्न खालका भ्याक्सिन पनि लगाएका रहेछन् ।
राजीहरूले खोर बनाएर व्यवस्थितरुपले कुखुरा पालन गरिरहेका छन् । तर कहिलेकाहीँ कुखुरालाई पखाला लाग्ने र चारो महंगो भएको गंगा राजीले गुनासो गरिन् । पशु सेवा कार्यालयका रामबहादुर कार्कीले स्थानीयरुपमै कुखुराको चारो बनाउन सिकाएको र कुखुरामा रोग लाग्दा सूचना गर्नु भनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार