प्रदेश नम्बर ७ मा ठूलो उद्योग खोल्छु: उद्योगपति चौधरी
धनगढी । प्रतिष्ठित उद्योगपति विनोदकुमार चौधरीले कैलाली सहित प्रदेश नम्बर ७ मा छिट्टै दुईवटा ठूला उद्योग खोल्ने बताएका छन् ।
उनले दुई ठूला (मेगा) उद्योग स्थापनासंगै प्रदेश नम्बर ७ मा आर्थिक गतिविधिमा उल्लेख्य बृद्धि हुने तथा रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए ।
नेपाल प्रेस युनियन कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कैलाली तथा कञ्चपुरका दुई क्षेत्रमा विशेष औद्योगिक क्षेत्र स्थापना हुन लागेको चर्चा गरे । ‘देशका विभिन्न क्षेत्रमा सात वटा विशेष औद्योगिक क्षेत्र खुल्दैछन्’ उनले भने– ‘प्रदेश नम्बर ७ मा दुई वटा औद्योगिक क्षेत्र स्थापना हुदैछन् र यहाँ उद्योग खोल्ने मेरो प्राथमिकता छ ।’
नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार समेत रहेका प्रतिष्ठित उद्योगपति चौधरीले पछिल्ला २५ वर्षमा कुनै पनि क्षेत्रमा औद्योगिक क्षेत्र नखुलेकोमा काँग्रेस नेतृत्वको सरकारले यसको पहल गरेर मुलुकको तीब्र आर्थिक समृद्धिमा गतिलो योगदान पुर्याएको चर्चा गरे ।
उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरू भौगोलिक दृष्टिकोणले कठिन रहेको र नेपालको गरिबीको रेखामुनी रहेको दर २१ प्रतिशत रहेकोमा सुदूरपश्चिमको ४२ प्रतिशत रहनु बिडम्बना रहेको बताए ।
उनले प्रदेश नम्बर ७ जलस्रोतका दृष्टिले निकै धनी रहेको बताए । उद्योगपति चौधरीले अपर कर्णाली, पञ्चेश्वर, पश्चिम सेती, बुढिगंगा जस्ता अपार जलस्रोत रहेको बताए । ‘यति अपार जलस्रोत हुँदाहुँदै पनि प्रदेश नम्बर ७ का २५ प्रतिशत जनताले मात्रै विद्युत सेवा प्राप्त गरिरहेका छन्’ उनले थपे ।
उनले काँग्रेसका सामु अहिले संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र जनताको तीब्र आर्थिक समृद्धि मात्रै प्रमुख एजेण्डा रहेको चर्चा गरे ।
पत्रकार सम्मेलनमा वरिष्ठ शिक्षाविद् पूर्व सांसद उमेश श्रेष्ठले सुदूरपश्चिममा तीब्र आर्थिक विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तथा प्राविधिक शिक्षाको विकास र विस्तारमा जोड दिइने बताए ।