२१ बैशाख २०८१, शुक्रबार

किसान सञ्जालको बैठक



धनगढी । धनगढी किसान महासंघले कृषि लक्षित कार्यक्रममा सीमान्तकृत किसानहरूको समान सहभागीता र प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत गठित साना किसानहरूको साझा सञ्जालको सोमबार धनगढीमा बसेको बैठकले सो माग गरेको जनाइएको छ ।
बैठकले स्थानीय श्रोत साधन सेवासुविधामा लक्षित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र सीमान्तकृत समुदायको खाद्य सुरक्षाका कृषि र खाद्य सुरक्षा लक्षित बजेट तथा कार्यक्रममा वृद्धि गरिनुपर्ने, कृषि क्षेत्रमा कम्तीमा १५ प्रतिशत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने लगायतका माग गरेको छ ।
बैठकले किसान महासंघको अगुवाईमा सीमान्तकृत समुदायको खाद्यअधिकार र सुरक्षाका लागि पैरवी अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।
कार्यक्रममा फाया नेपालका अधिकृत राजेन्द्र रैका, प्रगति च्याउ समूहका अध्यक्ष कुश्मा राना, सद्भावना महिला कृषक समूहकी अध्यक्ष रानु चौधरी, किसान महासंघका सचिव अक्कल विष्ट, पुष्पा बरायली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बैठक किसान महासंघका अध्यक्ष माया ताम्राकारको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार