२१ बैशाख २०८१, शुक्रबार

डिएपी मलको साटो एसएसपी



धनगढी । साल्ट ट्रेडिङ कर्पोरेशनले कैलाली सहित सुदूरपश्चिममा एसएसपी मल बिक्री गरिरहेको छ । यसअघि पाइने डिएपीको मागअनुसारको आपूर्तिक हुन नसकेपछिसाल्ट ट्रेडिङले यस वर्षदेखि एसएसपी मल आयात गरेको जनाएको छ ।
कैलाली लगायत सुदूरपश्चिममा यस पटक पनि हिउदे बाली लगाउने बेला रसायनिक मलको चर्को अभाव भएकोले विकल्पका रूपमा एसएसपी मल ल्याइएको कर्पोरेशनका विभागीय सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए ।
नेपालमा वार्षिक सात लाख मेट्रिक टन रसायनिक मलको माग रहने गरेको छ । तर, हाल वार्षिक तीन लाख मेट्रिक टन रसायनिक मल मात्रै आयात हुने गरेको छ ।
त्यसमध्ये साल्ट ट्रेडिङले वार्षिक एक लाख मेट्रिक टन रसायनिक मल अनुदान मूल्यमा बिक्री गरिरहेको छ ।
मलको अभाव हुन नदिन साल्ट ट्रेडिङले भारतको साई फर्टिलाइजर कम्पनी लिमिटेडबाट डिएपीको साटो एसएसपी र युरियाको साटो सिंगल सुपर सल्फ्रेट आयात गरिरहेको जनाइएको छ ।
हालसम्म कैलालीमा १३ हजार बोरा एसएसपी मल बिक्री गरिरहेको विभागीय सहायक महाप्रबन्धक पाण्डेले बताए ।
हाल बजारमा उपलब्ध युरिया र डिएपी मलमा क्याल्सियम र सल्फरको मात्रा कम रहेको भएकोमा एसएसपी मलमा यसको मात्रा पर्याप्त रहेको उनले बताए ।
एसएसपी मलको मूल्य प्रति बोरा एक हजार रुपैयाँ रहेको छ भने सुपर सल्फ्रेटको एक हजार चार सय ७० रुपैयाँ रहेको उनले बताए ।
उनले यो मल सिधैं कोलकाताबाट धनगढी आयात भइरहेको बताए ।
यसैबीच नयाँ ब्रान्डको गुण तथा प्रयोग विधिबारे बुधबार कैलाली र कञ्चनपुरका डिलर तथा किसानलाई प्रशिक्षण दिइयो ।
साई फर्टिलाइजरका मार्केटिङ म्यानेजर विश्वरूप बोस र साल्ट ट्रेडिङका सल्लाहकार भगवान खतिवडाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार