२२ बैशाख २०८१, शनिबार

कैलालीमा रसायनिक मलको अभाव



टीकापुर । कैलालीको टीकापुर लगायतका क्षेत्रमा रसायनिक मलको अभाव भएको छ । गहँु तोरी लगायत हिउदे बाली तथा तरकारी खेतीको सिजनमा रसायनिक मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन् ।
एक सातादेखि रसायनिक मलका लागि कृषि सामग्री केन्द्रको बिक्री डिपोमा धाउन लागेको बताउने टीकापुर नगरपालिका वडा नम्बर ९ का भौना चौधरीले भने– ‘तोरी छर्नलाई जग्गा तयारी अवस्थामा छ, तर मल नभएर छर्न पाएको छैन ।’
अर्का किसान कृष्णगोपाल चौधरीले पनि मलका लागि एक साताभन्दा बढीदेखि धाइरहेको बताए । उनले भने– ‘मलका लागि टीकापुर, सहकारी संस्था, भजनीसम्म धाए, तर कहि पनि पाइएन ।’
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्ेरडिङ लिमिटेडसंग अहिले मलको मौज्दात रहेको छैन । कृषि सामग्री केन्द्रका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेले भने– ‘आयातमा केही ढिलाई भएकोले अहिले मलको अभाव भएको हो ।’ उनले एक साताभित्रै मल आइपुग्ने बताए । उनले रसायनिक मल आयातको लागि भारतको कोलकातामा लोडिङ भइरहेको र एक साताभित्र धनगढीमा आइपुग्ने बताए ।
कैलालीमा वार्षिक २० हजार मेट्रिक टन मलको माग हुने गरेको छ । कृषि सामग्री केन्द्रले एक हजार छ सय ५२ रुपैयाँमा प्रतिक्विन्टल युरिया बिक्री गरिरहेको छ ।
त्यस्तै, डिएपीको मूल्य प्रतिक्विन्टल चार हजार ५ सय ५२ तथा पोटासको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५२ रुपैयाँ रहेको छ । कृषि सामग्री केन्द्रले सहकारी संस्थाहरूमार्फत रसायनिक मल बिक्रीवितरण गरिरहेको छ ।
तर, बजारमा रसायनिक मलको मूल्य प्रति क्वीन्टल साढे तीन सयदेखि एक हजार रुपैयाँ बढी तिर्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन् । किसान कृष्णगोपाल चौधरीले भने– ‘बजारमा कृषि सामग्री केन्द्रको अनुदानको मल पनि सहकारी संस्थापिच्छे फरकफरक हुने गरेको छ । प्राय: सहकारी संस्थाले लागत खर्च भन्दै बढी मूल्यमा रसायनिक मल बिक्री गरिरहेको किसानहरूको गुनासो छ ।’
कैलालीमा अहिले दुई सय आठ वटा कृषि सहकारी संस्था कृषि सामग्री केन्द्रमा दर्ता भए पनि एक सय ५० संस्थाले मात्र रसायनिक मलको कारोबार गरिरहेका छन् ।
यता, बजारमा रसायनिक मलको अभाव भएसंगै किसानहरूले भारतीय मल प्रयोग गरिरहेका छन् । गुणस्तर तथा तौलमा कम हुने भए पनि किसानहरूले अहिले भारतको कृभ, नवरत्न लगायतका ब्रान्डको रसायनिक मल प्रयोग गरिरहेका छन् ।

कात्तिक ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार