६ जेष्ठ २०८१, आईतवार

पश्चिम क्षेत्रमा वर्षा सक्रिय



धनगढी । कैलालीसहित पश्चिमी नेपालमा आइतबार रातिदेखि वर्षा सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालमा वर्षा सक्रिय भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले वर्षा सक्रिय भएका कारण पहिरो जाने, नदीमा बाढी आउने, डुबान र कटानमा बृद्धि हुने भएकाले नदी आसपासका मानव वस्तीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी पुर्वानुमान महाशाखाले सोमबार बहान आफ्नो अनलाइन पोर्टोकलमा बुलेटिन प्रकाशित गर्दै पश्चिम नेपालका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बुलेटिनमा आइतबार बिहानदेखि सोमबार बिहान ६ बजे (२४ घण्टा) मा देशैभर सञ्चालितमध्ये ६५ वटा स्वचालित केन्द्रहरूबाट प्राप्त विवरणअनुसार नारायणी जलाधारको लाङटाङ मौसमी केन्द्रमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा भएको र अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ ।
बुलेटिनमा महाकाली नदीको पानी वहावको स्तर निरन्तर बढिरहेको उल्लेख छ । तर, कर्णाली नदीमा भने पानीको वहावमा सामान्य रहेको देखाएको छ ।
कर्णाली चिसापानीमा सोमबार बिहान जल सतह सात दशमलव ४५ मिटर देखाएको छ भने दिउँसो तीन बजेको अनलाइन पोर्टकलमा आठ दशमलव २३ मिटर पुगेको उल्लेख छ । त्यस्तै, साँझ पाँच बजेर ३० मिनेटमा नदीको जल सतह आठ दशमलव १६ मिटरमा झरेको छ ।
कर्णाली नदीमा पानीको वहावमा घटबढ भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली चिसापानीमा पानीको वहाव १० दशमलव ८० मिटर उक्लेमा खतरा मानिन्छ ।
कैलालीकै मोहना नदीको बहाव एक दशमलव ५१ मिटर रहेको छ । बाढी पुर्वानुमान महाशाखाले मोहना नदीमा पानीको सतह घट्दै गएको उल्लेख गरेको छ । बाढी पुर्वानुमान महाशाखाले साँझ नदी जलाधार बहाव उच्च हुनसक्ने भएकाले जलाधार क्षेत्रमा सजगता आवश्यक रहेको जनाएको छ ।
मौसम पुर्वानुमान महाशाखाले सोमबारसम्म धनगढीमा ६२ दशमलव एक मिलिलिटर वर्षा भएको जनाएको छ । यसअघि बिहीबार साँझदेखि शुक्रबारसम्म एक सय मिलिलिटर वर्षा भएको थियो । बिहीबार परेको वर्षाले टीकापुर, भजनी, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिका प्रभावित भएको थियो ।
मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सजगता अपनाउन आग्रह गरेपछि कैलालीमा सुरक्षा निकायहरूलाई सजगताका साथ तयारी अवस्थामा राखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । प्रमुख जिल्ला अधिकारी रिजालले महाशाखाले सर्तकता अपनाउन भनेपछि उच्च जोखिममा रहेका क्षेत्रमा सुरक्षा निकायहरूलाई सतर्कताका साथ तयारी अवस्थामा राखिएको बताए ।
कैलालीको साविकको नारायणपुर, धनसिंहपुर र टीकापुर क्षेत्र बाढीको उच्च जोखिममा रहेका छन् भने कन्हैया, आम्बारी, कुसुमघाट, पहलमानपुर, खैलाड, पवेरा, हसुलिया, गेटा, दरख, लालबोझी लगायतका क्षेत्र संकटाभिमुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार