२२ बैशाख २०८१, शनिबार

कैलालीका सबै स्थानीय तहमा स्वास्थ्यकर्मी खटाइयो



धनगढी । कैलाली जिल्लाका सबै १३ वटै स्थानीय तहमा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले स्वास्थ्यकर्मीहरूलाई खटाएको छ ।
संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भइसकेकोले सबै गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्यकर्मीहरू खटाइएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशन र स्थानीय तहमा प्रशासनिक संगठन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४ बमोजिम जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले मातहतका २७ जना स्वास्थ्यकर्मीलाई खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख, वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले जानकारी दिए ।
बरिष्ठ जनस्वास्थ्य प्रशासनक चापागाईंले गाउँपालिका र नगरपालिकामा दुई/दुई जना र उपमहानगरपालिकामा तीन जना स्वास्थ्य कर्मचारी खटाइएको छ । जनतालाई छिटो छरितो र गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न, स्थानीय तहमा हुने स्वास्थ्य सम्बन्धि गतिविधि सञ्चालन तथा समन्वय गर्न, वडा गाउँ र नगर सभामा स्वास्थ्य सेवाबारे योजना बनाउन स्वास्थ्य कर्मचारीले जिम्मेवारी बहन गर्ने बताइएको छ ।
बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले स्थानीय तहमा हुने कार्यक्रम, अन्तरक्षेत्र समन्वय र अभिलेख प्रतिवेदन सुधार हुने अपेक्षा लिइएको बताए ।
उनले जिल्ला स्तरबाट सञ्चालन हुँदै आएका बाल स्वास्थ्य कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, रोग नियन्त्रण लगायतका कार्यक्रम तथा नगर तथा गाउँपालिकामा निकासा भएको बजेट अपुग भएमा गाउँ तथा नगर परिषदबाट थप विनियोजन गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले स्थानीय तहमा खटिने कर्मचारीले कार्यक्रमहरू समुदाय स्तरबाटै वडा, गाउँ र नगर परिषदसम्म पु¥याउन लागि जिल्ला स्वास्थ्य कार्यालय, वडा, गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरी कार्यक्रमको माग, संकलन, योजना तर्जुमा गर्ने जिम्मा पनि खटिएका कर्मचारीले बहन गर्ने बताए ।
यस्तै, संघीय संरचना अनुसार स्थानीय तहमा जिल्ला समन्वय समितिले पनि आफ्ना कर्मचारीहरू खटाईसकेको छ ।
जिल्ला समन्वय समिति, कैलालीबाट २८ जना कर्मचारी खटाइएको कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले बताए ।
स्थानीय विकास अधिकारी विमलीका अनुसार अहिलेसम्म जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय र जिल्ला समन्वय समितिमा रहेका कर्मचारीहरू स्थानीय तहमा काजमा खटिएका छन् ।
उनले बिहीबारसम्म जिल्लाका १३ वटा स्थानीय तहमा ६० जना कर्मचारी खटिएको बताए ।
जिल्लामा जिल्ला शिक्षा, कृषि विकास कार्यालय, मालपोत, आन्तरिक राजश्व लगायतका दर्जनौ कार्यालयका कर्मचारीलाई खटाउने प्रक्रिया अघि बढिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
स्थानीय तहमा कर्मचारी व्यवस्थापन समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी रहेका छन् भने जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख सदस्य रहेका छन् । भने समितिको सदस्य सचिवमा स्थानीय विकास अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार