५ जेष्ठ २०८१, शनिबार

भारतमा गरिने रोजगारीलाई समेट्न माग



धनगढी । नेपाली युवाहरूको आप्रवासनलाई सुरक्षित बनाउन बैदेशिक रोजगार ऐनमा भारतमा गरिने श्रमलाई समेटनु पर्ने र सरोकारवालाहरूले समन्वयमा काम गर्नुपर्नेमा जोड दिइएको छ ।
बुधबार राष्ट्रिय मानवअधिकार आयोग र निड्स कञ्चनपुरले आयोजना गरेको मानव बेचविखन तथा आप्रवासी कामदारको अवस्था विषयक कार्यशालाका सहभागीले यस्तो कुरा बताएका हुन् ।
निड्स कञ्चनपुरका इश्वर उपाध्यायले कञ्चनपुर, डोटी र अछामबाट मात्रै १६६ जना भारतमा हराएको, लाखौ मानिस रोजगारीमा भएपनि नेपाल सरकारसंग कुनै विवरण नभएको बताए । राष्टिय मानवअधिकार आयोगका
अधिकृत पवनकुमार भट्टले नेपालबाट लाखौं मानिस भएपनि आप्रवासी कामदार र तिनका परिवारको अधिकार सम्वन्धी महासन्धी १९९० लाई अनुमोदन नगरेको बताए ।
आयोजका क्षेत्रीय प्रमुख दीपकजंगध्वज कार्कीले मानवअधिकारप्रतिवेदनले अंगप्रत्यंग बिक्री, नर्तकी, धर्मपुत्रपुत्रीका नाममा मानव बेचविखन भैरहेकाले सरकारले भारतमा जाने समेतको रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने होटलमा बस्ने व्यक्तिको विवरण अनिवार्य राख्नुपर्ने, जिल्लाका सबै सीमा नाका र विन्दूहरूमा निगरानी बढाउनुपर्ने बताए ।
फाया नेपालका धनपति ढुंगेलले भारत जाने मानिसको तथ्यांक राखी भारतमा र नेपालमा काम गर्ने दुवै देशका नागरिकले बैंक खाता खोल्न पाउने व्यवस्था गर्न सके दुवै देशका नागरिकले कमाएकको पैसा सुरक्षित हुने बताए ।
सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले श्रमस्वीकृति लिएर बैदेशिक रोजगारमा गएका व्यक्तिलाई समस्या परे सरकारले सहयोग गर्ने भएपनि भारतको बाटो भएर जाने महिला पुरुषलाई अप्ठयारो परे केही गर्न नसकिने भएकाले कैलाली टान्जीट भइ जाने मानिसलाई स्थानीय सरोकारवालालको समन्वयमा रोक्न सक्नु पर्ने बताए ।
कार्यक्रममा निड्स नेपालका अध्यक्ष अञ्जु भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद, निडु नेपालका सुनिल मिश्र, माइति नेपालका पशुपति कुँवर, पत्रकारहरू उमीद वागचन्द, विपी अनमोल, प्रहरी नायव निरीक्षक सन्दीप शाह, ओरेक नेपाल विनु राना, कैलाशु राना लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार