४ जेष्ठ २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन : आज मनोनयन दर्ता हुँदै



धनगढी । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आज (आइतबार) उम्मेदवारहरूको मनोनयपत्र दर्ता कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ताको लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको छ ।
आगामी १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा निर्वाचन हुनेछ । यसअघि बैशाख ३१ गते प्रदेश नम्बर तीन, चार र छ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहको निर्वाचन भइसकेको छ ।
दोस्रो चरणमा निर्वाचन हुने भनिएको प्रदेश नम्बर २ मा भने आगामी असोज २ गते निर्वाचन हुँदैछ । राष्ट्रिय जनता पार्टीसंगको सहमतिमा सरकारले प्रदेश नम्बर २ को निर्वाचनको मिति असोजमा सार्ने निर्णय गरेको थियो । यद्यपि, राजपाले चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम जारी राखेको छ ।
दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र दुई सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ । असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित हुने छन् ।
यता, कैलालीमा आज एक उपमहानगरपालिका, ६ नगरपालिकाका र ६ गाउँपालिकाका लागि उम्मेदवारी दर्ता हुँदैछ ।
कैलालीमा एक सय २६ वडा रहेका छन् । स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी कैलालीमा ६ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।
प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिक सहितका राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै, केही स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।
धनगढी उपमहानगरपालिकामा काँग्रेसबाट मेयरमा नृपबहादुर वड र उपमेयरमा सुशीला मिश्र भट्ट, एमालेबाट मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटा, माओवादी केन्द्रबाट रामसमझ राना र उपमेयरमा सुशीला बुढाथोकी, राप्रपाबाट बिष्णु साहु र जनक कुँवर, फोरम लोकतान्त्रिकबाट प्रेम बिसी र दुर्गा कुश्मी उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार