१५ बैशाख २०८१, शनिबार

तीन वर्षमा दश हजार बढी गर्भपतन



धनगढी । कैलालीमा पछिल्ला तीन वर्षको अवधिमा दश हजार बढी गर्भवतीले गर्भपतन गराएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ को वैशाख महिनासम्मको अवधिमा जिल्लामा दश हजार तीन सय ७२ महिलाले गर्भपतन गराएका छन् ।
गर्भपतन गराउने गर्भवतीमा २० वर्ष उमेरमुनिका किशोरीको संख्या उल्लेख्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । सो कार्यालयको तथ्यांकअनुसार यो अवधिमा गर्भपतन गराएका मध्ये २० वर्षमुनिका किशोरीको संख्या एक हजार एक सय ३५ अर्थात् १२ प्रतिशत रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका तथ्यांक अधिकृत मोहनदेव भट्टका अनुसार आर्थिक वर्ष २०७३/०७४ को वैशाख महिनासम्म तीन हजार ३९ जना महिलाले गर्भपतन गराएका छन् । त्यसमध्ये दुई सय २० जना (सात प्रतिशत) गर्भवती २० वर्षमुनिका किशोरी रहेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा तीन हजार आठ सय ९७ महिलाले गर्भपतन गराएकोमा चार सय ६८ (१२ प्रतिशत) २० वर्षमुनिका किशोरीले गर्भपतन गराएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा तीन हजार चार सय ३६ गर्भपतन गराएका महिलामध्ये २० वर्ष मुनिका किशोरीको संख्या चार सय ४७ (१३ प्रतिशत) रहेको थियो ।
नेपालमा पनि सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपछि गर्भपतन गराउने संख्यामा बृद्धि आइरहेको छ । गर्भपतनले कानुनी मान्यता पाउनुअघि नेपालमा असुरक्षित तथा लुकिछिपी अनिच्छित गर्भपतन गराएका मध्ये धेरै जसो गर्भवति महिलाले निकै जोखिम बेहोर्नु परिराखेको थियो ।
तथ्यांक अधिकृत भट्टको विश्लेषणमा गर्भपतनसम्बन्धी जानकारी बढ्नु र धेरै ठाउँमा गर्भपतन गराउने वैधानिक मान्यताप्राप्त संस्था खुलेका कारण यो संख्यामा बृद्धि हुँदै गएकोा छ । त्यस्तै, कलियो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारण पनि गर्भपतनको संख्यामा उल्लेख्य बृद्धि आएको छ । गर्भपतन गराउनेमध्ये धेरै महिलाले औषधी सेवन गर्ने गरेको चिकित्सकहरूको भनाई छ ।
बरिष्ठ चिकित्सक डाक्टर गणेशबहादुर सिंहका अनुसार औषधी सेवन सजिलो विधि भएकाले पनि प्राय: गर्भवति किशोरीले यो प्रयोग गर्ने गरेका छन् ।
डाक्टर सिंहले गर्भपतन गर्न पाउने महिलाको अधिकार भए पनि त्यसको दुरुपयोग गर्दा जटिलता निम्तिने गरेको बताए । जथाभावी गर्भपतन गराउनु स्वास्थ्यका लागि हानिकारक भएकाले विशेष परिस्थितिमा मात्रै गर्भपतन गराउन डाक्टर सिंहले आग्रह गरे ।
कैलालीमा ११ वटा स्वास्थ्य चौकी, सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा सरकारबाट र नवजीवन, पद्मा र घोडाघोडी अस्पतालन, मेरिस्टोप तथा परिवार नियोजन संघले निजी क्षेत्रबाट गर्भपतन गराउने स्वीकृति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार