१६ बैशाख २०८१, आईतवार

स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण



धनगढी । कैलालीमा कार्यरत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागितामा मंगलबार धनगढीमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया भएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय र गैरसरकारी संस्था महासंघ, कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य बिमाको अवस्था र कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा भएको थियो ।
‘स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको मात्र दायित्व नभएर गैरसरकारी संस्था तथा नागरिक समाजको पनि जिम्मेवारी छ’ कार्यक्रममा सुदूरश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक डाक्टर सुशील प्याकुरेलले भने– ‘स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन सरकारले कार्यक्रम लागू गरेकाले सफल बनाउने सबैको दायित्व हो ।’ उनले सरकारले कैलालीबाट बिमा कार्यक्रम शुरु गरे पनि अझैं सर्वसाधारणको उल्लेख्य सहभागिता हुन नसकेको बताए ।
कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रबन्धक नरेश चौधरीले कैलालीमा हालसम्म दुई हजार एक सय ३८ घरधुरीका पाँच हजार तीन सय ५५ पुरुष र पाँच हजार आठ सय ६१ महिला गरी ११ हजार दुई सय १६ जनाले स्वास्थ्य बिमामा सहभागी भएको बताए ।
उनले स्वास्थ्य बिमामा सहभागी विमितबाट ६० लाख ४५ हजार छ सय ८० रुपैयाँ संकलन भइसकेको बताए । त्यस्तै, पाँच हजार पाँच सय ९९ सय जनाले स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिइसकेका छन् ।
जिल्ला प्रबन्धक चौधरीले कैलालीमा अझैं गरिबी परिचयपत्र वितरण नहुनु, सेवा प्रदायक संस्था जिम्मेवार नबन्नु र स्वास्थ्य बिमाबारे अझैं पर्याप्त जानकारी नभएका कारण अपेक्षित उपलब्धी प्राप्त हुन नसकेको बताए ।
‘बिमा कार्यक्रमले अतिविपन्न परिवारलाई नि:शुल्क, विपन्नलाई ७५ प्रतिशत र गरिबीको रेखामुनि रहेकालाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ’ उनले भने– ‘तर, गरिब तथा सहकारी मन्त्रालयले गरिब परिचयपत्र वितरण गरेको छैन ।’ उनले गरिव परिचयपत्र वितरण भएपछि बढी सहभागिता हुने अपेक्षा गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त जनस्वास्थ्य अधिकृत खगेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा गैससका अध्यक्ष हेमकर्ण विकले स्वागत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार