१५ बैशाख २०८१, शनिबार

अत्यधिक गर्मी, अस्पतालमा बिरामी बढे



धनगढी । केही दिनयता अत्यधिक गर्मी बढेसंगै अस्पतालहरूमा बिरामीको बढेको चाप बढेको छ । धनगढीस्थित सेती अञ्चल अस्पताल तथा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा केही दिनयता झाडापखाला, आउँ, भाइरल ज्वरो लगायतका समस्याबाट पीडित बिरामीको चाप बढेको छ ।
सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड ईन्चार्ज कृष्ण बोहराका अनुसार अहिले दैनिक सरदर डेढ सय जना बिरामी उपचारका लागि आउने गरेको बताए । उनका अनुसार इमर्जेन्सी वार्डमा आउने अधिकांस बिरामी झाडापाखाला, आउँ र भाइरल ज्वरोबाट ग्रस्त हुने गरेका छन् ।
त्यस्तै, अहिले ओपिडीमा दैनिक सरदर तीन सय बढी बिरामी उपचारका लागि आइरहेको सेती अञ्चल अस्पतालले जनाएको छ । ‘अस्पतालमा अहिले विरामीको संख्या एकाएक बृद्धि भएपछि बिरामीलाई भर्ना गर्न बेड अभाव भएको छ’ ईमर्जेन्सी ईन्चार्ज बोहराले भने– अहिले अस्पतालमा दैनिक सरदर २० जना बिरामी भर्ना भइरहेका छन् भने ६ जना डिस्चार्ज भइरहेका छन् ।
उनले ईमर्जेन्सी वार्डमा आएका विरामीलाई भर्ना नगरेर फिर्ता पठाउनु पर्ने बाध्यता रहेको बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू अस्पतालमा गर्मी वा जाडो याममा मौसमी बिरामीको संख्या बढ्ने वित्तिकै वेडको अभाव हुने गरेको बताउँछन् । अस्पतालको गाइनो वार्डमा ५६, लेवर रुममा १३, प्याडिएट्रिक वार्डमा ३३, सर्जिकल वार्डमा ३९, मेडिकल वार्डमा ३६, ईमर्जेन्सी वार्डमा १३, आइसियुमा चार, डाईलोसिसमा तीन, मालन्यूट्ेरसनमा १० सहित दुई सय १५ वेड रहेको अस्पताल दर्पण पुस्तकमा उल्लेख छ ।
अस्पतालमा बेड संख्याभन्दा निकै बढी बिरामी उपचारका लागि आउने भएकाले चेकअप गरेर घर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अशोक श्रीपाईलीले बताए ।
सेती अञ्चल अस्पतालले २०६१ सालमा अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट सञ्चालन हुने गरि स्वास्थ्य मन्त्रालयबाट एक सय २५ बेडको स्वीकृति प्राप्त गरेको थियो । अस्पतालमा ७५ बेड अस्पताल विकास समितिको आन्तरिक स्रोतबाट सञ्चालनमा छन् ।
अस्पताल व्यवस्थापन समितिले सरकारलाई अस्पतालको स्तरोन्नतीको माग गरे पनि हालसम्म सुनुवाई नभएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीपाइलीले बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीपाइलीले सेती अञ्चल अस्पतालमा कैलाली जिल्लाका मात्र नभएर प्रदेश नम्बर ७ (सुदूरपश्चिमाञ्चल क्षेत्र) का नौ वटै जिल्लाका बिरामी उपचारका लागि आउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार