२१ भाद्र २०८१, शुक्रबार

स्थानीय भन्छन्– पूर्वाधार विकास गर्नेलाई भोट दिन्छौं



धनगढी । दोस्रो चरणको निर्वाचनको मिति फेरि सारिएको छ । बैशाख ३१ गते नै मतदान गर्न उत्साहित आम मतदाता दुई पटक मिति सारिएपछि केही खिन्न त भएका छन्, तर कस्ता उम्मेदवारलाई भोट दिने भन्ने बहस जहातहीँ देख्न पाइन्छ ।
स्थानीय तह निर्वाचनबारे आम मतदाताको धारणा संकलन गर्ने क्रममा अनुमोदन दैनिकले यस पटक धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा स्थानीयसंग प्रत्यक्ष भेटघाट तथा कुराकानी गरेको छ । यस क्रममा ग्रामीण क्षेत्रका मतदाताको समान मत छ– विकास निर्माणका पूर्वाधार विकासमा ध्यान दिनेलाई नै हामी मत दिन्छौं ।
धनगढी नगरपालिकाबाट उपमहानगरपालिका बनाउने क्रममा साविक उर्मा र फूलवारी गाविसलाई गाभिएको छ । त्यस्तै, साविक बेलादेवीपुरका केही वडालाई पनि धनगढी उपमहानगरपालिकामा गाभिएको छ । उपमहानगरपालिकामा गाभिएपछि ती क्षेत्रका जनताले स्वाभाविक रूपमा आर्थिक तथा भौतिक विकासको गति तीब्र हुने सपना देखेका छन् । आर्थिक विकासका दृष्टिले पछाडि परेका उपमहानगरपालिकाका ग्रामीण क्षेत्रका बासिन्दा भन्छन्– ‘अब त्यत्तिकै मत माग्न आएर मात्रै पुग्दैन, विकासका पूर्वाधारको विकासको ठोस र भरपर्दो प्रतिवद्धता पनि व्यक्त गर्नु पर्दछ ।’
हालको धनगढी उपमहानगरपालिका–११, सेहरीका स्थानीयले उपमहानगरपालिका भित्र बसोबास गर्ने भए पनि विकासको अनुभूति गर्न नपाएको गुनासो गरे । उनीहरूले विभिन्न राजनीतिक दल तथा नेताहरूले धेरै पटक ढाटेकाले यस पटक ठोस प्रतिवद्धता आउनुपर्ने बताए । साविकको वेलादेवीपुरका बासिन्दा भन्छन्– ‘दल तथा उम्मेदवारहरूले सडक विस्तार र स्तरोन्नती तथा नदी कटान व्यवस्थापनमा दिगो योजनासहित मत माग्न आउनु पर्दछ ।’
त्यस्तै, वेलादेवीपुरमा स्वास्थ्य सेवाको पनि उत्तिकै समस्या रहेको स्थानीय बताउँछन् । स्थानीय टीकाराम बिष्ट भन्छन्– ‘अझैं पनि स्वास्थ्य चौकीमा भवन अभावमा खुला ठाउँमा नै विरामीले उपचार गराउनुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार