२३ बैशाख २०८१, आईतवार

महाअभियोग फिर्ता भएन, स्थगनको पत्र दर्ता



काठमाडौं । कांग्रेस–माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिएनन् ।
प्रमुख विपक्षी एमालेसँग महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको बताइए पनि सत्तारुढ दलले स्थगनमात्रै गरेका छन् । महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले संसद सचिवालयलाई पत्र लेख्दै प्रस्ताव अघि नबढाउन आग्रह गरेका छन् । विश्वकर्मा र बस्नेतले संयुक्त पत्र लेख्दै ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनगर गर्दै प्रस्ताव अघि नबढाउन अनुरोध’ गरेका छन् ।
कांग्रेस–माओवादीका २ सय ४९ सांसदले वैशाख १७ गते दर्ता गरेको महाअभियोगको सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले वैशाख २२ गते प्रधानन्यायाधीश कार्कीलाई काममा फर्काएको थियो ।
स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने गलत मनसायले सत्तारूढ दलका सांसदले कार्कीमाथि ‘महाअभियोगको तरबार झुड्याइरहेको’ भन्दै प्रतिपक्षी एमालेले प्रस्ताव फिर्ता नभएसम्म सदन सुचारु हुन नदिने अडान राखेपछि सत्तारूढ दल महाअभियोग फिर्ता लिन सहमत भएका थिए ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार