२१ बैशाख २०८१, शुक्रबार

घोडाघोडीका पाँच वटा वडा पूर्ण खोपयुक्त



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका पाँच वटा वडालाई बिहीबार पूर्ण खोपयुक्त घोषणा गरिएको छ । सो नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ (साविक साडेपानी गाविस) लाई बिहीबार एक समारोहबीच पूर्ण खोपयुक्त घोषणा गरियो ।
साविक साडेपानी गाविसमा एक वर्षको अवधिमा छ सय आठ जना नवजात शिशुले ११ प्रकारका सबै खोप प्राप्त गरेपछि गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जनाइएको छ ।
वल्र्डभिजन ईन्टरनेशनल, बाल कल्याण संघ टीकापुर र घोडाघोडी नगरपालिकाको कार्यालयको सहयोगमा स्थानीय पूर्ण खोप समन्वय समितिले आयोजना गरेको समारोहमा कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले पूर्ण खोप घोषणा गरे ।
सो अवसरमा वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले कैलालीलाई असारभित्रै पूर्ण खोपयूक्त जिल्ला घोषणा गर्न तीब्ररूपमा काम भइरहेको बताए ।
उनले अहिले साविकका गाविसलाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रमलाई तीब्ररूपमा अघि बढाइएको बताए । उनले बिहीबारसम्म साविकका २० गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको बताए । उनले पूर्ण खोप घोषणा गर्नुभन्दा पनि दिगो राख्न चुनौती रहेको बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका कार्यकारी अधिकृत राजुप्रसाद न्यौपानेले बालबालिकामा रोगको संक्रमण हुन नदिने र यसले बाल मृत्युदरमा पनि कमी ल्याउन सहयोग गर्ने बताए । उनले खोपबाट वञ्चित भएका बालबालिकाहरूले अपाङ्ग हुुनुपर्ने, मानसिक समस्या झेल्नुपर्ने, कुपोषणा लगायतका रोगबाट संक्रमित हुनुपर्ने भएकाले बालबालिकालाई रोग लाग्न नदिन र सानै उमेरमा मृत्यु हुन नदिन बालबालिकालाई खोप लगाउनुपर्ने चर्चा गरे ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख शितलसिंह ओखेडाले सरकारको प्राथमिकता कार्यक्रम पूर्ण खोप घोषणा अभियानलाई सफल बनाउन आमा समुह, महिला स्वयंसेविकाको मुख्य भुमिका रहेको चर्चा गरे ।
कार्यक्रममा दोदोधरा स्वास्थ्य चौकीका कृष्णदेव जोशी, बुद्धिजीवि धनीराम चौधरी, वल्र्डभिजनका एलपिए म्यानेजर धु्रव गुर्मछान, सुआहाराकी कार्यक्रम अधिकृत रक्षा गिरी, वडा नागरिक मञ्चका संयोजक कृष्ण विष्ट, महिला स्वयम्सेविका सावित्रा ढकाल, नरबहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साडेपानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य मेघबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा साडेपानी स्वास्थ्य चौकीका ईञ्चार्ज कर्णबहादुर विकले स्वागत गरेका थिए ।
कार्यक्रममा आमा समूह, महिला स्वयम्सेविका, भलमन्सा, वडा नागरिक मञ्चका संयोजक लगायतलाई पूर्ण खोप घोषणा गर्ने कार्यक्रममा योग्दान पुर्‍याएकोमा सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार