३१ भाद्र २०८१, सोमबार

रुस्लान अत्तरिया कप क्रिकेट : राईजिङ काठमाडौं र मिलन झापा सेमिफाइनलमा



धनगढी । कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा राइजिङ क्रिकेट वुमन काठमाडौं र मिलन क्रिकेट एकेडेमी झापा सेमिफाइनलमा पुगेका छन् ।
शनिबारको पहिलो खेलमा राइजिङले बारा क्रिकेट एकेडेमीलाई हराएर समूह ‘बी’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । यसअघि राइजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई हराएको थियो ।
त्यस्तै, समूह ‘ए’ को खेलमा उपविजेता बन्दै मिलन क्रिकेट एकेडेमीले पनि अन्तिम चारमा स्थान बनायो । झापाले कञ्चनपुर क्रिकेट एकेडेमीलाई २८ रनले हराएको थियो ।
अत्तरियास्थित एपिएफ क्रिकेट मैदानमा राइजिङले टस जित्यो र ब्याटिङ गर्दै तीन विकेट क्षतिमा बिशाल दुई सय तीन रनस्कोर बनायो । यो प्रतियोगिताको अहिलेसम्मको सर्वाधिक स्कोर हो ।
राइजिङको ब्याटिङ सम्पूर्ण रूपमा शहनाज प्रविनका नाममा रह्यो । खेलको म्यान अफ द म्याच प्रविनले ६१ बलमा १६ चौका हिर्काउँदै आकर्षक तथा आक्रामक ९८ रन बनाए ।
टी–२० मा बिरलै बन्ने शतक बनाउन दुई रनले चुकेकी प्रविनले बाराका बलरहरूलाई हैरान र निराश पार्दै मैदानको चारैतिर चौकाको वर्षा गरिन् ।
राइजिङलाई बिशाल स्कोरसम्म पुर्‍याउन साम्पा मुखर्जीले ४८ रन बनाइन् । २९ बलको सामना गरेकी मुकर्जीले एक छक्का र सात चौका प्रहार गरिन् । तेस्रो विकेटका लागि प्रविन र मुखर्जीले एक सय तीन रनको साझेदारी गरेका थिए । त्यस्तै, नेरी थापाले १२ वलमा पाँच चौका हिर्काउँदै २८ रन बनाइन् ।
दुई सय चार रनको कठिन विजयी लक्ष्य सहित ब्याटिङ गर्न ओर्लिएको बारा २० ओभरमा नौ विकेटमा ७३ रनमा खुम्चियो ।
बाराका लागि गीता गोसाईले ३७ रनको उच्च स्कोर बनाइन् । बाराका चार खेलाडी सून्य रनमा आउट भए । राइजिङका शान्ति खतिवडाले तीन विकेट लिइन् । त्यस्तै, अस्मिना कर्माचार्य, नेरी थापा, आरती विडारी र कृति सेनले एक/एक विकेट लिए ।
शनिवार नै भएको दोस्रो खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुरलाई हरायो । टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा छ विकेट क्षतिमा एक सय ४६ रन बनायो ।
झापाका मानषी चौधरीले ४७ रन बनाइन् । उनले ३३ बलमा सात चौका गरेकी थिइन । त्यस्तै, रितु जैन र मुस्कान वेगमले १८/१८ रन बनाए ।
बलिङतर्फ कञ्चनपुरकी डली भट्टले तीन विकेट लिइन भने मञ्जु विष्टले दुई र जानकी भट्टले एक विकेट लिइन् ।
एक सय ४७ रनको विजय लक्ष्य पाएको कञ्चनपुर छ विकेटमा एक सय १९ रनमा समेटियो । हारसंगै कञ्चनपुर प्रतियोगिताबाट बाहिरिउको छ ।
कञ्चनपुरका कविता जोशीले ५२ रनको अर्धशतकीय पारी खेले पनि टीमको हारलाई टार्न सकिनन् । त्यस्तै, रेखा रावल र बिन्दु रावलले ११/११ रन बनाए । खेलको म्यान अफ द म्याच झापाकी रितु जैन बनिन् ।
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेल समूह ‘बी’मा रहेका कैलाली जिल्ला क्रिकेट एकेडेमी र बारा क्रिकेट एकेडेमबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार