१० श्रावण २०८१, बिहीबार

काँग्रेसको क्षेत्रीय सम्मेलन : नेताहरूको उद्घोष– गत निर्वाचनको जनविश्वास दोहोरिन्छ



धनगढी । नेपाली काँग्रेस, कैलाली क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलन मङ्गलवार धनगढीमा भएको छ । सम्मेलनको एक समारोहबीच केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले उद्घाटन गरिन् ।
सो अवसरमा केन्द्रीय सदस्य न्यौपानेले आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले संविधान सभाको दोस्रो निर्वाचन (२०७०) मा प्राप्त गरेको जनविश्वास पुन:आर्जन गर्ने दाबी गरिन् ।
‘जनताले नेपाली काँग्रेसलाई पटकपटक पत्याएका छन्’ उनले जनताको विश्वासका कारण नै नेपाली काँग्रेस मुलुकको पहिलो पार्टीका रूपमा स्थापित भएको चर्चा गरिन् । काँग्रेस संसदीय दलका सचेतक समेत रहेकी केन्द्रीय सदस्य न्यौपानेले घोषित मितिमै निर्वाचन हुनेमा ढुक्क हुन पनि आग्रह गरिन् ।
उनले सिंहदरवारको अधिकार गाउँसम्म पुर्‍याउन स्थानीय तहको चुनाव निर्णायक भएकाले सबैको सक्रिय सहभागिताका लागि आह्वान गरिन् ।
कार्यक्रममा सांसद पुस्करनाथ ओझाले पार्टी केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ–नगर हुँदै वडा–टोल तहसम्म पार्टीलाई थप सङ्गठित र परिचालित गर्दै निर्वाचनमा पहिलो पार्टी बनाउने लक्ष्यमा सबै केन्द्रित हुन आग्रह गरे ।
उनले राष्ट्रियताको संरक्षण, तीव्र आर्थिक समृद्धि, दिगो शान्तिको नेपाली जनताको आकाङ्क्षा र चाहना पुरा गर्न काँग्रेस बलियो हुनुपर्ने बताए । उनले २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा आकांक्षीहरू धेरै हुनु स्वाभाविक भएको बताए ।
कार्यक्रममा सांसद प्यारेलाल रानाले काँग्रेसले सधैँ जनताको हितमा काम गरेकोले स्थानीय तहको चुनावमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । उनले काँग्रेसले योग्य, ईमान्दारिता अनुसारनै कार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने बताए ।
कार्यक्रममा काँग्रेस नेता सुनीलकुमार भण्डारी, पूर्व जिविस सभापति नारायणदत्त मिश्र, नेपाली काँग्रेस महासमिति सदस्य नारायणदत्त भट्ट, धनगढी उपमहानगरपालिका सभापति नृप वड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, क्षितिज भण्डारी, जिल्ला सचिव पूर्ण कुँवर, पूर्व क्षेत्रीय सभापति उद्धव विष्ट, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नेतृ पुष्पा भट्ट, जिल्ला सदस्य लक्ष्मी देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलन कैलाली क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति हरिश खड्काको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा क्षेत्रीय उपसभापति कुम्भ गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । क्षेत्रीय सचिव भीम पडालले सांगठानिक र कोषाध्यक्ष देवराज जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार