७ जेष्ठ २०८१, सोमबार

एमालेले प्रमुख उपप्रमुखको उम्मेदवार छान्यो



धनगढी । यस क्षेत्रको चुनाव जेठ ३१ गते सरे पनि एमालेको सात नम्बर प्रदेश सङ्गठन कमिटीले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांशका प्रमुख तथा उपप्रमुख छानेको छ ।
केन्द्रीय उपाध्यक्ष तथा प्रदेश सन्योजक भीम रावलको अध्यक्षतामा शनिवारदेखि बसिरहेको बैठकले कैलालीको टीकापुरमा तपेन्द्र रावललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमेयरमा कमला केसी छानिएकि छन् । भजनीत्रिशक्तिमा प्रदीप मल्ल मेयर र मधुमति चौधरी उपमेयर छानिएका छन् ।
यस्तै, गरेर घोडाघोडीमा नगरपालिकामा अमर साउँद मेयर र लक्ष्मी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । एमाले स्रोतका अनुसार गौरीगंगा नगरपालिका भीम देउवा मेयर र अंचला चौधरी उपमेयर छानिएका छ्न । धनगढी उपमहानगरपालिकाका मेयर उपमेयर केन्द्रीय कमिटीले छान्ने छ भने लम्कीचुहा र गोदावरी नगरपालिका अझ छलफल गरेर मात्र नाम टुंगो लगाउने बताइएको छ ।
छवटा गाउँपालिका प्रमुख र उपप्रमुख पनि छानिएको छ । छानिनेमा मोहन्याल गाउँपालिकामा नवलसिंह रावल प्रमुख र पूजा बुढा उपप्रमुख, चुरेबाट धनबहादुर रोक्कामगर प्रमुख र दिपादेवी साउद उपप्रमुख, वर्दगोरियाबाट कर्ण कुँवर प्रमुख र सावित्रादेवी सापकोटा उपप्रमुखका उम्मेदवार रहेका छन् ।
त्यस्तै, कैलारीबाट रामप्रसाद चौधरी प्रमुख र झुमादेवी चौधरी उपप्रमुख, जानकीबाट जगत चौधरी प्रमुख र गङ्गा थापा उपप्रमुख तथा जोशीपुरबाट प्रेमलाल चौधरी प्रमुख र गोमा आचार्य उपप्रमुखका उम्मेदवार रहेका छन् ।
एमाले जिल्ला कमिटी कैलालीले यसअघि कैलालीका १२६ मध्ये १२३ का वडा अध्यक्ष र अधिकांश सदस्य छानीसकेको छ ।
केही दिनमा केही विवाद मिलाएर ८७ तहका उम्मेदवार सार्वजनिक गर्ने तयारी गरेको एमाले सात नम्बर प्रदेशले कञ्चनपुरको भिमदत्त नगरपालिकामा पार्टी जिल्ला सचिव सुरेन्द्र बिस्ट, बेदकोटमा अशोक चन्द र बेलौरीमा पल्लव भट्टलाई उम्मेदवार बनाएको छ । यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा रामबहादुर बानियालाई मेयर र मायादेवी कुँवरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
बाजुराको बडीमालिका नगरपालिकामा पार्टीका उपसचिव गगन रावल मेयर र गीता रावल उपमेयरको उम्मेदवार भएका छन् । बुढीनन्दा नगरपालिकाबाट जनक बोहरा मेयर र सृष्टि रेग्मीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । गौमुल गाउँपालिकाको प्रमुखको उम्मेदवार हरि रोकायालाई बनाइएको छ ।
अछामको साँफेबगर नगरपालिकामा शिलोज कुँवर, मंगलसेन नगरपालिकाबाट पदम बोहरा, बान्नीगढी जयगढ गाउँपालिकाबाट एमालेका अछाम जिल्ला कमिटि पूर्व अध्यक्ष कमल तिमिल्सिना, कमलबजार नगरपालिकाबाट दीपक अधिकारी मेयर, पञ्चदेवल नगरपालिकाबाट नन्द कडायतलाई मेयरको उम्मेदवार बनाइएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा महिलालाई मेयर पदमा उठाइएको छ । दिपायल सिलगढी नगरपालिकामा पार्टीका जिल्ला कमिटी पूर्व उपसचिव तथा महिला नेतृ मञ्जु मलासीलाई मेयरको उम्मेदवार बनाइएको हो । यसअघि अधिकारकर्मीको छवि बनाएकी मलासी सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय कोषाध्यक्ष भैसकेकी छिन । एक उपमहानगरपालिका र ३३ नगरपालिका भएको सात नम्बर प्रदेशमा प्रमुख पदमा एमालेले एक जना महिलालाई मात्र उम्मेदवार बनाएको बताइएको छ । डोटीकै शिखर नगरपालिकामा शेरबहादुर मल्ललाई मेयर पदको उम्मेदवार बनाइएको छ ।
बझाङको जयपृथ्वी नगरपालिकाबाट वीरेन्द्र खड्का मेयर, जुना दानी उपमेयरका उम्मेदवार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार