१० श्रावण २०८१, बिहीबार

सार्वजनिक सुनुवाई कार्यक्रम



धनगढी । धनगढीमा रहेको कामना मसला उद्योगको ‘मसला उत्पादन, प्रशोधन तथा बजारीकरण उपआयोजना’ को अन्तिम एवं चौथो सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार भएको छ ।
आयोजनाको अवधिभर पवेराका पाँच वटा कृषक समूहलाई धनिया, खुर्सानी उत्पादनको तालिमसँगै बीऊ र मल प्रदान गर्नुका साथै उपकरण पनि प्रदान गरिएको उद्योगका प्रबन्धक पंकज देउवाले जानकारी दिए ।
उनले पवेराका एक सय २० कृषकले आठ हेक्टर क्षेत्रफल जमिनमा धनिया र खुर्सानी खेती गर्दै आएका छन् । हालसम्म छ सय ४० क्विन्टल धनिया र खुर्सानी उत्पादन भएको देउवाले जनाए ।
देउवाका अनुसार उपयोजनाको अवधि समाप्त भए पनि आगामी दिनमा ती पाँचवटा कृषक समूहले उत्पादन गर्ने धनिया र खुर्सानीको संकलन एवं बजारीकरणमा सहयोग गरिनेछ ।
धनगढीमा रहेको कामना उद्योगले उपआयोजनाको अनुदान रकमबाट मसला प्रशोधनका लागि मेसिन खरिद गरेर जडानको काम समेत सम्पन्न गरेको जनाएको छ ।
एक करोड ४० लाख ३८ हजार पाँच सय रुपैयाँ कुल बजेट रहेको उपयोजनामा ६९ लाख ११ हजार नौ सय ५९ रुपैयाँ अनुदान रहेको थियो । ७१ लाख २६ हजार पाँच सय ५० रुपैयाँ उद्योगको लगानी गरेको देउवाले जनाए ।
उद्योगका सञ्चालक प्रेमबहादुर देउवाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य संघका सूचना अधिकृत गोमा अधिकारी रहेकी थिइन् । कार्यक्रममा सेवक नेपालका यज्ञराज अवस्थी, दीपक विष्ट, मन्तव्य व्यक्त गरेका थिए ।
कामनाले २०७२ असोजबाट नेपाल सरकार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पुरक अनुदान सहयोगमा सञ्चालित उपआयोजना मसला उत्पादन, प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार