३१ भाद्र २०८१, सोमबार

धनगढी टिम चौराहा फाइनलमा



  धनगढी । बिहीबार धनगढी टिम चौराहा यहाँ जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा पुगेको छ । निर्णायक खेलमा पारसले ६७ रन (अविजित) को आकर्षक र बिस्फोटक पारी खेलेपछि धनगढी टिम चौराहले यस वर्षको डिपिएलको दावेदारका रूपमा हेरिएको रूपन्देही च्यालेन्जर्सलाई ९२ रनको ठुलो रन अन्तरले पराजित गर्‍यो । यो लिगकै सबैभन्दा ठुलो रन अन्तरको जीत हो । पारससहितका ब्याट्सम्यानले बनाएको लिगकै दोस्रो उच्च स्कोरमा बलरहरूले पनि कसिलो र घातक बलिङ गरेपछि धनगढीसंग रूपन्देहीले लज्जास्पद हार बेहोर्नुपर्‍यो ।
लिग चरणका शुरुवाती खेलमा अपेक्षाकृत कमजोर र निराशाजनक प्रदर्शन गरेको धनगढी टिम चौराहाले लिग चरणको अन्तिम खेल, इलिमिनेटर र क्यालिफायर खेलमा सानदार प्रदर्शन गर्‍यो । डिपिएलको उपाधिका लागि अब धनगढीले शरद भेषवाकरको नेतृत्वमा रहेको बिराटनगर किंग्ससंग भिडन्त गर्ने छ ।
घरेलु दर्शकले खचाखच भरिएको एसएसपी क्रिकेट मैदानमा धनगढी टिम चौराहले टस जीत्यो । धनगढीका ब्याट्सम्यानले सुरुदेखि नै सकारात्मक खेल खेले । प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल (२५ रन, २८ बल, ४ चौका) र एके मण्डल (१३ रन, ११ बल, १ चौका) ले पहिलो विकेटका लागि तीन ओभरमा २९ रन जोडे । तेस्रो नम्बरमा आएका पृथु बास्कोटा चार रनमा आउट हुँदा धनगढीको स्कोर दुई विकेटमा ४८ रन थियो । यसपछि ब्याटिङ गर्नका आएका पारसले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरे । बिहीबारको खेल आफ्नो नाममा लेखाएका खेलका म्यान अफ द म्याच पारसले रूपन्देहीका बलरहरूलाई हैरान पार्दै मैदानको चारैतिर रनको वर्षा गरे ।
नाम अनुसार निकै लयमा देखिएका पारसले चार विशाल छक्का र छ चौका हिर्काउँदै ६७ रन (अविजित) बनाए । त्यसका लागि उनले ४१ रन मात्रै खेले । पारसलाई अर्को छेउबाट साथ दिँदै शौरभ खनालले बिस्फोटक २४ रन (८ बल, दुई छक्का र दुई चौका), अमर रौटेलाले १२ बलमा तीन चौकासहित १६ रन बनाए । यससंगै धनगढीले २० ओभरमा पाँच विकेट क्षतिमा एक सय ७२ रनको विशाल स्कोर बनायो । यो यस वर्षको डिपिएलको दोस्रो ठुलो स्कोर हो । यसअघि काठमाडौँ गोल्डेन्सले बिराटनगर किंग्सविरुद्धको खेलमा एक सय ७३ रन बनाएको थियो ।
प्रतिओभर ८.६५ रनको विजयी लक्ष्य पाएको रूपन्देही सुरुदेखि नै दबाबमा खेलेपछि पुरै टिम १५ दशमलव दुई ओभरमा ८० रनमा नै अलआउट भयो । धनगढीका बलरहरूको धारिलो र घातक बलिङको कुनै पनि समय खुलेर खेल्न नसकेको रूपन्देहीका आठ जना ब्याट्सम्यानले दोहोरो अङ्क पनि छुन सकेनन् ।
रूपन्देहीमाथि सानदार विजय हासिल गर्ने क्रममा धनगढीका शौरभ खनाल र ललित राजबंशीले तीन/तीन विकेट झारे । त्यस्तै, आरिफ शेखले दुई विकेट लिएका थिए ।
रूपन्देहीका लागि राजेश पुलामीमगर र कृष्ण कार्कीले १४/१४ रन बनाएका थिए भने पुष्प थापाले १३ रन जोडे ।
लिग चरणमा पाँचमध्ये दुई खेल मात्रै जितेको धनगढी टिम चौराहले लिगको निर्णायक खेलमा पनि रूपन्देहीलाई नै हराएको थियो । र, नेट रनरेटका आधारमा प्लेअफ चरणमा पुगेको थियो । सो खेलमा पनि कप्तान पारसले २१ बलमा ४२ रन बनाएपछि रूपन्देहीले दिएको ९२ रनको लक्ष्य धनगढीले ११ ओभरमा नै पुरा गरेको थियो ।
त्यस्तै, बुधवार भएको एलिमिनेटर खेलमा धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार