१० श्रावण २०८१, बिहीबार

उपप्रधानमन्त्री थापाद्वारा स्थानीय निर्वाचनमा भाग लिन आह्वान



टीकापुर । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले वैशाख ३१ गते हुने स्थानीय चुनाव सफल बनाउन सबैमा आह्वान गरेका छन् । उनले आम नेपाली जनतालाई चुनावमा भाग लिन पनि आह्वान गरे ।
आइतबार कैलालीको टीकापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सेती अञ्चलस्तरीय सभामा उपप्रधानमन्त्री थापाले स्थानीय निर्वाचनबारे कुनै पनि किसिमको आशंका र द्विविधा नराख्न पनि आम मतदातामा आग्रह गरे ।
उनले मधेसी जनताप्रति कुनै पनि पार्टी विरोधी नरहेको चर्चा गर्दै मधेसी जनताका मागप्रति सबै दल सकारात्मक रहेको बताए । उनले सरकार मधेसी मोर्चाको माग सम्बोधन गर्न तत्पर रहेको बताए ।
उपप्रधानमन्त्री थापाले २०७२ साल भदौको ७ र ८ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोग र समितिको रिर्पाेटका आधारमा दोषीमाथि कारबाही गरिने र पीडितले उचित क्षतिपूर्ति पाउने बताए ।
कार्यक्रममा राप्रपाका नेता आशाराम चौधरीले टीकापुर घटनाको समाधानको लागि राजनीतिक दलले नै पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू कमल बलि, रामदुलारी चौधरी र चन्द्रबहादुर गुरुङ, रामबहादुर शाह, चैतन्य महाराज, पुस्करदत्त भट्ट, आशा लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राप्रपाका कैलाली जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार