१० श्रावण २०८१, बिहीबार

धनगढी प्रिमियर लिग क्रिकेट : रुपन्देहीको लगातार तेस्रो जीत, अत्तरियाले चौराहलाई हरायो



धनगढी । धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को शुक्रवारको खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्सलाई हराएको छ । रुपन्देहीको यो लगातार तेस्रो जीत हो । यससंगै रुपन्देही च्यालेन्जर्सले लीगको अङ्क तालिकामा शिर्षस्थान कायमै राखेको छ ।
शुक्रवार नै भएको अर्को खेलममा सिवाइसी अत्तरिया विजयी भयो । अत्तरियाले डिपिएलको गत वर्षको च्याम्पियन टिम चौराह धनगढीलाई पराजित गर्‍यो । यस वर्षको डिपिएलमा टिम चौराहको यो लगातार तेस्रो हार हो ।
टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन बनायो । रुपन्देही च्यालेन्जर्सका नुरधोज सेनले २२ बलमा ३७ रन तथा पुष्प थापाले ३३ बलमा ३६ रन बनाए । त्यस्तै, शङ्कर रानाले १६, प्रकाश केसीले १२ र विक्रम सोवले १० रन बनाए ।
बलिङतर्फ काठमाडौँ गोल्डेन्सका सोमपाल कामीले चार विकेट लिएका थिए ।
एक सय ३६ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँ गोल्डेन्स २० ओभरमा नौ विकेट क्षतिमा एक सय २० रनमा समेटियो ।
काठमाडौँका सुमित महर्जनले २७, सुवेन्दु पाण्डे र रोहित पौडेलले २०/२० रन बनाएका थिए । तर सात जना व्याट्सम्यानले दोहोरो अङ्क समेत जोड्न नसकेपछि काठमाडौँ १५ रनले पराजित भयो ।
रुपन्देहीका शक्ति गौचनले तीन, विक्रम सोवले र कृष्ण कार्कीले दुई/दुई तथा पुष्प थापा र साहेव आलमले एक/एक विकेट लिए । खेलको वेल्स क्याफे म्यान अफ द म्याच रुपन्देहीका पुष्प थापा घोषित भए ।
शुक्रवार नै भएको अर्को खेलमा सिवाइसी अत्तरियाले टिम चौराह धनगढीलाई ४० रनले पराजित गर्‍यो ।
टस जितेर व्याटिङ गर्ने निर्णय गरेको सिवाइसीले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा एक सय ४२ रन बनायो । सिवाइसी अत्तरियाका रोन नेपालीले ३२, योगेन्द्र कार्कीले २७, प्रदीप ऐरीले २६ र करन केसीले २५ रन बनाए ।
प्रतिउत्तरमा टिम चौराह निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय दुई रनमा सीमित भयो । टिम चौराहमाथि ४० रन अन्तरको जीत दिलाउन कसिलो बलिङ गरेका सिवाइसी अत्तरियाका मेहवुव आलम सुरेन्द्र चन्दले तीन/तीन विकेट लिए । विनोद लामाको खातामा दुई विकेट रह्यो । मेहवुव सो खेलका वेल्स क्याफे म्यान अफ द म्याच पनि घोषित भए ।
टिम चौराहका रामनरेश गिरी (३९ रन), सौरव खनाल (२३) र अनिल मण्डल (१९) ले राम्रो प्रयास गरे कप्तान पारस खड्का सहित चार जना खेलाडी शून्य रनस्कोरमा आउट भएपछि लज्जास्पद हार बेहोर्न बाध्य हुनुपर्‍यो ।
प्रतियोगिताको आज (शनिवार) को खेल विराटनगर किङ्स र कञ्चनपुर आईकोनिक तथा काठमाडौँ गोल्डेन र टिम चौराह धनगढीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
शुक्रवारको खेल सँगै रुपन्देही च्यालेन्जर्स अङ्क तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । काठमाडौँ गोल्डेन्स चार खेलमा दुई जीत र दुई हारसहित अङ्क तालिकामा दोस्रो स्थानमा छ । त्यस्तै, दोस्रो जीतसंगै सिवाइसी अत्तरिया तेस्रो स्थानमा उक्लिएको छ । दुई जीत र दुई हार बाट चार अङ्क भए पनि काठमाडौँ नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार