१० श्रावण २०८१, बिहीबार

धनगढी प्रिमियर लिग : कञ्चनपुरद्वारा टिम चौराह पराजित, बिराटनगरले अत्तरियालाई हरायो




धनगढी । 
बलरहरू चम्केपछि धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा बिहीबार कञ्चनपुर आइकोनिकले टिम चौराह धनगढीलाई ११ रनले हराएको छ । टिम चौराह गत वर्षको डिपिएल च्याम्पियन हो ।
पहिले ब्याटिङ गरेर बनाएको एक सय पाँच रनको सानो स्कोर रक्षा गर्ने क्रममा कञ्चनपुरका बलरहरूले बिहीबार सानदार बलिङ गरे । कञ्चनपुरको फिल्डिङ पनि बिहीबार उत्कृष्ट रहेको थियो । प्रतिओभर जम्मा पाँच दशमलव तीन रनको विजयी लक्ष्य पछ्याएको टिम चौराह धनगढीलाई ९४ रनमा नै खुम्च्याउने क्रममा कञ्चनपुरका अविनाश कर्णले तीन विकेट लिए । बलरको दिनका रूपमा रहेको बिहीबारको पहिलो खेलमा कञ्चनपुरका ललित भण्डारी र चन्द्र साउँदले दुई/दुई विकेट झारे । एक/एक विकेट सिद्धान्त लोहनी र सुनिल धमलाको नाममा रह्यो ।
२०–२० क्रिकेटमा एक सय पाँच रनको विजय लक्ष्यलाई सामन्यतया: ठुलो मानिदैन । तर, धनगढीका चार जनाबाहेक अरू खेलाडीको प्रदर्शन निकै फितलो भएपछि ११ रनबाट पराजित हुनुपर्‍यो । टिम चौराह धनगढीका पारस खड्काले २३ बलमा २३ रन बनाएका थिए भने आरिफ शेखले २२, पृथु बास्कोटाले १९ रन र अनिल मडण्लले १२ रन बनाए । टिम चौराहका चार जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गर्न ओर्लिएको कञ्चनपुर निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय पाँच रनको सामान्य स्कोरमा समेटिएको थियो ।
कञ्चनपुरका लागि सुनिल धमलाको ३९ रन (३७ बल) र सिद्धान्त लोहनीको २७ रन (२० बल) उल्लेख्य रह्यो । सागर पुनले पनि धैर्यपूर्वक खेल्दै ४३ बलमा २० रन बनाए ।
बलिङतर्फ टिम चौराह धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई/दुई विकेट लिए । सुशन भारी र प्रेम तामाङले एक/एक विकेट लिए ।
बिहीबार नै भएको अर्को खेलमा बिराटनगर किङ्सले सिविआई अत्तरियालाई आठ विकेटको भारी अन्तरले हराएको छ ।
टस जितेर ब्याटिङ गर्न उत्रेको सिविआई अत्तरियाका ब्याट्सम्यानले कप्तानको निर्णयलाई पुरा गर्न सकेनन् । र, अत्तरिया सबै विकेट गुमाएर ९२ रनको सानो स्कोरमा समेटियो ।
अत्तरियाका मेहवुव आलमले २७ र करन केसीले १७, ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कँुवरले १० रन बनाए । तर, अरू ब्याट्सम्यानले दोहोरो अङ्क पनि छुन नसकेपछि अत्तरिया सानो रनस्कोरमा खुम्चिन बाध्य भयो ।
अत्तरियालाई सानो रनस्कोरमा सीमित गर्न अहम् भूमिका निर्वाह गरेका विराटनगर किङ्सका बलर सन्दीप लामिछानेले तीन र जीतेन्द्र मुखियाले दुई विकेट झारे ।
बिराटनगरले ९३ रनको विजय लक्ष्य १२ औँ ओभरमा दुई विकेट क्षतिमा पुरा गर्‍यो । आसिफ शेखले सर्वाधिक ४६ रन बनाए । उनलाई गतिलो साथ दिँदै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए ।
लिग क्रिकेट अन्तर्गत आज (शुक्रवार) रूपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स् तथा सिवाईसी अत्तरिया र टिम चौराह धनगढीबीच खेल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार