१० श्रावण २०८१, बिहीबार

‘विदेशमा रहेका नेपालीलाई पनि चुनावमा सहभागी गराऊ’



धनगढी । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का महासचिव डाक्टर गोपालकृष्ण शिवाकोटीले रोजगारमा विदेश रहेका नेपालीहरूलाई पनि चुनावमा सहभागी गराउने वातावरणको बनाउन सरकारसँग माग गरेका छन् ।
‘दोस्रो संविधान सभाको चुनावमा देशभरि एक करोड २१ लाख ४७ हजार आठ सय ६५ मतदाता थिए । अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा जम्मा १९ लाख मतदाता मात्र थप भएका छन्’ बुधवार नियोकले धनगढीमा आयोजना गरेको राज्य पुन:संरचना र स्थानीय निर्वाचन: ढाँचा र व्यवस्थापन विषयक प्रादेशिक परामर्श कार्यक्रममा बोल्दै उनले भने– तीन वर्षको अवधिमा दुई करोड मतदाता पुग्नुपर्ने हो, तर अहिले एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता रहेका छन् ।
उनले देशका अन्य राष्ट्रले आफ्नो मुलुकका नागरिक अन्य देशमा रोजगारका लागि गएको भए पनि उनीहरूलाई मतदान गर्ने अधिकार सुनिश्चित गरिएको बताए ।
महासचिव डाक्टर सिवाकोटीले जसरी पनि निर्वाचन गर्नुभन्दा पनि निर्वाचन स्वच्छ, भयरहित, पारदर्शी ढङ्गले सम्पन्न गर्नेगरि राज्यले व्यवस्थापन गर्न जरुरी रहेको बताए । ‘जसरी पनि निर्वाचन गर्नुपर्छ र जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मान्यता गलत हो’ डा. शिवाकोटीले भने ‘यस्तो प्रतिस्पर्धाले भोलि राष्ट्रमा सुशासन र पारदर्शिता हुँदैन ।
स्थानीय सुशासनविद कृष्णप्रसाद सापकोटाले स्थानीय तहको चुनावले सबै सम्प्रदायका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने भएकाले अन्य निर्वाचन भन्दा बढी महत्त्व रहेको बताए ।
उनले स्थानीय तहले स्थानीय विकास आयोजना व्यवस्थापन, कृषि, पशुपालन, सहकारी, जैविक विविधता, नीति निर्माण, योजना तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुृगमन, स्थानीय राजस्व परिचालन, लेखा परीक्षण, स्थानीयस्तरमा न्याय सम्पादन लगायत स्थानीय तहका सम्पूर्ण सुचनाहरुको व्यवस्थापन गर्ने भएकाले सक्षम र आफ्नो कार्यप्रति जिम्मेवार व्यक्तिहरूलाई निर्वाचित गराउनुपर्ने विचार व्यक्त गरे ।
उनले स्थानीय निर्वाचनमार्फत ३६ हजार छ सय ३९ जनप्रतिनिधि प्रत्यक्ष रूपमा निर्वाचित हुने र झन्डै ५० प्रतिशत महिला प्रतिनिधित्व हुने बताए ।
नियोकका क्षेत्रीय सदस्य बसन्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनपति ढुंगेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार