१० श्रावण २०८१, बिहीबार

चौमासिक प्रगति तथा समीक्षा गोष्ठी



धनगढी । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको दोस्रो चौमासिक प्रगति तथा समीक्षा गोष्ठी बुधवार धनगढीमा भएको छ ।
गोष्ठीको जनसङ्ख्या तथा वातावरण मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले उद्घाटन गरेका थिए । कार्यक्रम कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा उपसचिव थापाले कैलालीमा लापा कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढेको बताए । उनले दोस्रो चरणको कार्यक्रममा सरकारको पनि लगानी रहने गरी सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत युवराज पाण्डे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जगत साउँद लगायतले लापा कार्यक्रम अन्र्तगत सञ्चालन भएका योजनाले समुदायलाई लाभान्वित गरेको बताए ।
कार्यक्रममा लापाका कार्यक्रम अधिकृत दिनेश आचार्यले कैलालीमा दोस्रो चरणमा ७९ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २४ लाख दुई हजार खर्च भइसकेको जानकारी दिए ।
जिल्लामा प्लाष्टिक छानो र टनेल बनाएर गरिने तरकारी खेती प्रविधि, बगर खेती तालिम तथा प्रविधि, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतनामुलक कार्यक्रम, पक्की दिवाल, पर्खाल निर्माण गरी नदी कटान रोक्ने र स्पर निर्माण कार्यक्रम सम्पन्न भइसकेको बताए ।
यस्तै, लापा कार्यक्रम अन्र्तगत सिचाई कुलो निर्माण तथा मर्मत, पानी निकासको लागि भल तार्ने र पाईप निर्माण, सामुदायिक प्रकोप पीडित उद्धार घर निर्माण, जैविक कच्ची तटबन्ध निर्माण कार्य सञ्चालनमा रहेका छन् भने डुवानबाट बच्न सक्ने धान खेती तालिम, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतनामुलक कार्यक्रम, लिफ्ट सिचाई र सोलार मोटर जडान योजना प्रक्रियामा रहेको उनले जानकारी दिए ।
उनले यस आर्थिक वर्ष कुल एक करोड ८५ लाख ७२ हजार बजेट विनियोजना भएकोमा दोस्रो चौमासिकसम्ममा ४० लाख दुई हजार बजेट खर्च भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार