१० श्रावण २०८१, बिहीबार

धनगढी प्रिमियर लिग : अत्तरिया र रूपन्देहीको विजयी सुरुवात



धनगढी । योगेन्द्र कार्कीको आक्रामक अर्धशतकीय पारी तथा अनिवाश बोहरा र विनोद लामाको घातक बलिङबाट धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) मा सोमबार सिवाईसी अत्तरियाले काठमाडौँ गोल्डेन्सलाई हराएर विजयी सुरुवात गरेको छ ।
सोमबार नै भएको अर्को रोमाञ्चक खेलमा रूपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई हराएको छ । अत्तरियाले काठमाडौँ गोल्डेन्सलाई ४० रनले पराजित गर्‍यो भने रूपन्देहीले कञ्चनपुर आईकोनिकलाई १४ रनले हरायो ।
यस वर्षको डिपिएलको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय ४६ रनको सम्मानजनक स्कोर बनायो ।
खेलको सुरुवात मै विकेट गुमाएको अत्तरियाको पारी योगेन्द्र कार्कीले सम्हाले । उनले ५७ रनको अर्धशतकीय पारी खेल । उनलाई साथ दिँदै अत्तरियाका ज्ञानेन्द्र कुँवरले नटआउट ३४ रन बनाए । अत्तरियालाई सम्मानजनक स्कोरमा पुर्‍याउन दिलीप नाथले १५, प्रदीप ऐरीले अविजित १३ तथा रोशन नेपालीले दश रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौँका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै, मञ्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले एक/एक विकेट लिएका थिए ।
एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौँ एक सय छ रनमै सीमित भयो । पुरा ओभर पनि खेल्न नसकेको काठमाडौँले १८ औँ ओभरमा सबै विकेट गुमाएको थियो । काठमाडौँका सोमपाल कामीले मात्रै अत्तरियाको घातक बलिङको धैर्यपूर्वक सामना गरेका थिए । उनले ४० बनाए । काठमाडौँका सन्तोष भट्टले पनि ३१ रन बनाए पनि बाँकी खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन् ।
काठमाडौँ गोल्डेन्समाथि ४० रनको सानदार जीत दिलाउने क्रममा अत्तरियाका अविनाश तथा विनोदले कसिलो र घातक बलिङ गरे । बेल्स क्याफे म्यान अफ द म्याच समेत घोषित अविनाश बोहराले चार ओभरको बलिङमा चार विकेट लिए । विनोद लामाले तीन विकेट लिए ।
त्यस्तै, सोमबारको अर्को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रूपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनायो ।
रूपन्देहीका हरिशंकर साहले सबैभन्दा बढी ३३ रन बनाए । त्यस्तै, शङ्कर रानाले १९, प्रकाश केसीले २६, शक्ति गौचनले १६ रन र विक्रम सोवले १५ रन बनाए ।
बलिङतर्फ कञ्चनपुरका कुशल भुर्तेलले चार विकेट लिए । त्यस्तै, अविनाश कर्णले दुई तथा सुनिल धमलाले एक विकेट झारे ।
एक सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३१ रन मा चित्त बुझाउनु पर्‍यो । कञ्चनपुरका लागि सागर पुनले ३९ रन बनाए । भने सुनिल धमलाले २८, कुशल भुर्तेलले २७ रन बनाएका थिए ।
बलिङतर्फ रूपन्देहीका शाहेव आलम र कृष्ण कार्कीले तीन/तीन, शक्ति गौचनले दुई र दीपेश श्रेष्ठले एक विकेट लिए ।
डिपिएल अन्तर्गत मङ्गलवार टिम धनगढी र विराटनगर किङ्स तथा दोस्रो खेल कञ्चनपुर आईकोनिक र काठमाडौँ गोल्डेन्सबीच हुने जनाइएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को संयुक्त आयोजनामा भइरहेको यस वर्षको डिपिएलमा देशभरिका ६ टिम सहभागी छन् । ६ वटा सहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन, काठमाडौँको एक, विराटनगरको एक र भैरहवाको एक टिम रहेको छ ।
क्रिकेट खेलमा मुलुककै सर्वाधिक पुरस्कार राशिको यस वर्षको डिपिएलको उपाधि विजेताले १५ लाख तथा उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुवास शाहीले बताए ।
यस वर्ष खेल हेर्नका लागि तीन हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार